९ माघ, काठमाण्डौ ।
काठमाडौँ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए । महानगर प्रहरी प्रमुख पाण्डेले पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको बताएका छन् ।
उनले भने, ’आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’ उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए ।
यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । यससंगै न्युरोड क्षेत्रमा आज बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए । वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी पनि गराउने गरेको छ ।