१० चैत, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ । चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लुरु (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो ।
चेन्नाइका लागि ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रनको योगदान गरेर आउट भए । शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे । बैंग्लुरुका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । बैंग्लुरुका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए ।
अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए । उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा अविजित रहे । चेन्नाइका लागि मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए भने दीपक चहरले एक विकेट लिएका थिए । आईपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ः४५ मा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मल्लानपुरमा हुनेछ भने दोस्रो खेल साँझ कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ ।
पञ्जावको कप्तान शिखर धवन र दिल्लीको ऋषभ पन्त छन् । पन्त झण्डै डेढ वर्षपछि मैदान फर्किदैछन् । सन् २०२२ को डिसेम्बरमा दुर्घटनामा परेसँगै उनी मैदान बाहिर थिए । यस्तै कोलकाताको कप्तानी श्रेयस ऐर र हैदराबादको प्याट कमिन्सले गर्नेछन्। कोलकातामा आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी अष्ट्रेलियाका मिचेल स्टार्क छन् ।
उनलाई कोलकाताले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो । त्यस्तै अस्ट्रेलिया क्रिकेट टोलीका कप्तान कमिन्स आईपीएल इतिहासकै दोस्रो सर्वाधिक महँगा खेलाडी हुन् । उनलाई हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो ।