४ वैशाख , काठमाण्डौ।
नेपाली बजारमा सुनको मूल्यले आज रेकर्ड राखेको छ । आज प्रतितोला १७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २सय निर्धारण भएको छ । सोमबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० मा निर्धारण भएको हो । तेजाबी सुन सोमबार भने एक लाख ३६ हजार ८ सयमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ७ सय ५०निर्धारण भएको छ ।
यसअघि गत शुक्रबार सुनको भाउले १ लाख ३९ हजारको उच्चतम मूल्य रेकर्ड बनाएकोमा सो रेकर्ड आज फेरि तोडिएको छ । सुनको भाउ ऐतिहासिक मुल्यमा पुगेकै दिन अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २३ पैसा कायम भएको छ ।
इरान र इजरायलको द्वन्द्व बढेसँगै अमेरिकी डलर महँगिएको हो । इरानको आक्रमणपछि इजरायलले अमेरिका बेलायतसहित अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन पाउँदा इरानी मुद्रा रियाल थप कमजोर बनेको छ भने इजरायली मुद्रा शेकेल बलियो बनेको छ । शनिबार र आइतबार अन्तर्राष्ट्रिय मुद्रा कारोबार बन्द रहेकाले सोमबारदेखि नै डलर मजबुत बनेको हो ।
अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक औसत १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक औसत १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा झनै नोक्सानी पर्दछ ।
डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ । सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ । एकातर्फ आयातित परिमाण नै बढ्ने अर्कोतर्फ प्रतियुनिट परिमाणको मूल्य नै बढ्दा त्यसले सञ्चित विदेशी मुद्रामै धक्का दिन्छ ।