१ भदौ, विराटनगर ।
चिठीमार्फत् मागेको फिरौती रकम लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरको रामगोपालपुर नगरपालिका-५ कञ्चनपुर घर भई हाल जलेश्वर नगरपालिका १ मा डेरा गरी बस्ने २५ वर्षीय सुनीलकुमार राउत र सोही ठाउँका १९ वर्षीय करण मण्डल रहेका छन् ।
उनीहरूले जलेश्वर नगरपालिका-५ का गफुर राईन भन्ने व्यक्तिलाई पत्र लेखेर ९२ हजार रुपैयाँ माग गरेका थिए ।
केही दिनअघि धम्कीपूर्ण भाषा प्रयोग गरी रकम मागेका उनीहरूले पत्रमा सो रकम जलेश्वरनाथ महादेव मन्दिरको छेउमा रहेको फोहोर फ्याक्ने भाँडोमा राख्न भनेका थिए ।
पीडितले प्रहरीलाई जानकारी गराएर प्लास्टिकमा कागज पोको पारी मन्दिरपरिसरको फोहोर फाल्ने भाँडोमा राखेका थिए ।
सो पोको निकाल्न खोज्दा लुकेर बसेको प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको हो ।
मन्दिर अगाडिबाट शनिबार बिहान पक्राउ परेका उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक धर्मराज मुड्भरीले जानकारी दिए ।