२२ भदौ , विराटनगर ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेको बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । यो यान न्यू मेक्सिकोको मरुभूमिमा स्थानीय समय अनुसार शुक्रबार अवेर राति अवतरण गरेको हो । यान तोकिएको समय भन्दा महिनौं ढिलाइ गरी पृथ्वी फर्किएको हो । तर, यो यानमा गएका बुच र सुनिता अझै अन्तरिक्षमै छन् ।

दुवै अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका छन् । उनीहरु अब अर्को वर्षसम्म पृथ्वीमा फर्कने बताइएको छ । परिक्रमा प्रयोगशालाबाट अनडक गरेपछि खाली अन्तरिक्ष यान स्वचालित रूपमा चलिरहेको थियो । अन्तरिक्षयानको क्याप्सुलमा प्राविधिक गडबडी भएपछि अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा ल्याउन खतरनाक मानिएको थियो ।
अब दुवै अन्तरिक्ष यात्रीलाई स्पेसएक्सको स्पेसक्राफ्ट क्रु ड्र्यागनमार्फत अर्को वर्ष फेब्रुअरीसम्म पृथ्वीमा ल्याइनेछ । स्टारलाइनरले पृथ्वीमा फर्किन ६ घण्टाको यात्रा गर्नुपरेको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि यस अन्तरिक्ष यानको गति कम गर्न प्यारासुटको प्रयोग गरिएको थियो ।
सुनिता र बुच गत ५ जुनमा बोइङको स्टारलाइनर अन्तरिक्षयानमा चढेर अन्तरिक्षमा गएका थिए । उनीहरूले स्पेस स्टेशनमा जम्मा ८ दिन बिताउने योजना थियो । तर, सो यानमा हिलियम ग्यास चुहिएका कारण उनीहरु निर्धारित समयमा पृथ्वीमा फर्किन सकेनन् । बोइङ स्टारलाइनरमा हीलियम लीक र थ्रस्टरमा समस्या भएसँगै अब उनीहरुलाई स्पेस एक्स कम्पनीको यानबाट आगामी वर्षको फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्काइने तय भएको छ ।
यस अनुसार सुनिता र विलमोरले अन्तरीक्षमा कम्तिमा २४० दिन बस्नुपर्नेछ । ८ दिनका लागि अन्तरिक्षमा गएका सुनिता विलियम्स र उनका सहकर्मी बुच विलमोरले ८ महिना अन्तरिक्षमा बिताउनु परेपछि त्यसको असर के हुन्छ ? त्यसबाट उनीहरुको जीवनलाई खतरा छ कि छैन ? यस्ता प्रश्नहरु अहिले जो कोहीको मनमा चलिरहेको छ ।
यसैबारेमा सन् २०२२ मा नेचर म्यागजिनमा क्यानाडामा गरिएको एउटा अनुसन्धान प्रकाशित भएको थियो । ओटावा विश्वविद्यालयका शोधकर्ताले गरेको उक्त अध्ययनमा भनिएको छ कि अन्तरिक्षमा बस्दा अन्तरिक्षयात्रीको शरीरका ५० प्रतिशत राता रक्त कोशिकाहरू नष्ट हुन्छन् र यो प्रक्रिया उक्त अन्तरिक्षा मिसनको अवधिभर नै चलिरहन्छ ।
यसको अर्थ अन्तरिक्षमा बस्दा अन्तरिक्षयात्रीको शरीरमा रगतको कमी हुन्छ । यसलाई स्पेस एनिमिया भनिन्छ । वास्तवमा रगतमा हने राता कोशिकाहरू अर्थात आरबिसीले सम्पूर्ण शरीरभर अक्सिजन पु¥याउँछन् । यो क्रिया पृथ्वीमा सामान्य हुने भए पनि अन्तरिक्षमा राता रक्तकोषको कमीका कारण त्यसमा असर पर्दछ । त्यसैले चन्द्रमा, मंगल ग्रह वा त्यसको बाहिरको अन्तरिक्षको यात्रा मानिसका लागि एक ठूलो चुनौती बन्छ ।
यसका अतिरिक्त, अन्तरिक्षमा बस्दा अन्तरिक्षयात्रीहरूको मांसपेशी कमजोर बन्छन् भने हाडमा क्याल्सियमको कमी हुन्छ । त्यसैले पृथ्वीमा फर्केपछि अन्तरिक्ष यात्रीहरूलाई कमजोर र थाकेको महसुस हुन्छ । वैज्ञानिकहरूका अनुसार, अन्तरिक्षमा बस्दा अन्तरिक्षयात्रीको शरीरमा हरेक सेकेन्डमा ३० लाख राता रक्त कोषहरू नष्ट हुन्छन् ।
जबकि पृथ्वीमा यो गतिप्रति सेकेन्ड दुई लाख मात्र हुन्छ । यद्यपि कुनै पनि परिस्थितिमा हाम्रो शरीर रक्तकोषको क्षतिको पूर्ति गर्न समर्थ हुन्छ । किनकि रातो रक्त कोशिकाहरू निकै तीव्र गतिमा उत्पादन हुन्छन् । यस्तोमा अमेरिकी सरकारले आफ्नो अन्तरिक्ष कार्यक्रमहरूमा यति ठूलो रकम खर्च गर्छ कि जुन धेरैवटा साना देशहरूको जीडीपीभन्दा कैयन् धेरै छ । यस्तोमा सुनिता र उनका सहकर्मीलाई पूर्वनिर्धारित पृथ्वीमा फर्काउन अमेरिका किन असफल भयो ? भन्ने प्रश्न पनि उठिरहेको छ ।
स्टाटिस्टाको एक अनुसन्धान अनुसार विश्वमा अन्तरिक्ष कार्यक्रमहरूमा सबैभन्दा धेरै खर्च गर्ने मुलुक अमेरिका हो । अमेरिका आफ्ना स्पेस मिशनहरूमा वार्षिक करिब ७३ अर्ब डलरभन्दा धेरै खर्च गर्दछ । दोस्रो स्थानमा रहेको चीनको वार्षिक अन्तरिक्ष कार्यक्रमको बजेट १४ अर्ब डलर भन्दा केही बढि छ । अन्तरिक्ष कार्यक्रमको बजेट यतिधेरै हुँदा पनि अमेरिका आफ्ना अन्तरिक्षयात्रीलाई निर्धारित समयमा पृथ्वीमा फर्काउनमा असफल साबित भइरहेको छ ।
एक तथ्यांक अनुसार २०२३ को नोभेम्बर सम्ममा कुल ६७६ जना मानिस अन्तरिक्ष यात्रामा गएकामा १९ अमेरिकी अन्तरिक्ष यात्रीले ज्यान गुमाएका थिए । अमेरिकामा अन्तरिक्ष यात्रीहरूको मृत्यु दर २.८ प्रतिशत छ । पछिल्लो ५० वर्षमा अमेरिका र रूसका ३० भन्दा बढी अन्तरिक्ष यात्रुले आफ्नो जीवन गुमाएका छन् ।
अहिले जुन बोइङको यानबाट नासाका दुई यात्री स्पेस स्टेशनमा गएर अड्किएका छन् त्यो यानको रेकर्ड पनि राम्रो छैन । बोइङले २०१९ मा मानव रहित पहिलो परीक्षण उडानमा पनि धेरै समस्याहरू सामना गर्नु परेको थियो । २०२२ मा दोहो¥याइएको परीक्षणले पनि थप त्रुटिहरू फेला पारेको थियो जसको मर्मत खर्च १.५ अर्ब डलर भन्दा बढी भयो ।
स्टारलाइनरले अन्ततः ५ जुनमा फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट सफलतापूर्वक अन्तरिक्षमा उडान ग¥यो, तर त्यसअघि ६ मे र १ जुनका असफल प्रक्षेपणहरू भएका थिए । यहाँसम्म कि बोइङका पृथ्वीमा उड्ने विमानहरूमा पनि प्रायः विभिन्न समस्याहरु उत्पन्न हुने गरेको पाइन्छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा हाल ८ वटा क्याप्सुल अर्थात यान डक गर्न अर्थात् जोड्न सकिन्छ । हाल त्यहाँ रूसको क्याप्सुल रहेको छ जुन आपतकालीन अवस्थामा प्रयोगमा आउँछ । पहिले अमेरिकाको पनि क्याप्सुल त्यहाँ हुन्थ्यो । तर, अहिले सबै क्याप्सुलहरू रूसकै छन्। यी क्याप्सुलहरू स्टेशनमा डक गरिएका छन् । यदि अत्यन्त खराब स्थिति उत्पन्न भएमा, रूसको क्याप्सूलले एकसाथ ५ जना अन्तरिक्ष यात्रीहरूलाई एकैपटकमा पृथ्वीमा फर्काउन सक्छ ।
अन्तरिक्षमा अहिले सुनिता र बुचसँगै ७ जना यात्री रहेका र अमेरिका र रूसको बीचमा राम्रो सम्बन्ध समेत नभएकाले आफ्ना अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउन रुसी क्याप्सुलको प्रयोग नगर्ने मनस्थितिमा अमेरिका रहेको हो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीबाट ३ सय किलोमिटरभन्दा माथिको उचाइमा छ ।
जब कुनै यान पृथ्वीबाट करिब ८० किलोमिटरको उचाइमा एक निश्चित करिडोर हुँदै पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छ तबमात्र यो सफलतापूर्वक पृथ्वीमा फर्किन सक्छ । यसमा थोरै पनि त्रुटि भएमा, यान ब्रह्माण्डमा फर्किन्छ वा यसको परिक्रमा लगाइरहन्छ । यसलाई रिइन्ट्री करिडोर भनिन्छ । अन्तरिक्ष वैज्ञानिकका अनुसार पृथ्वीमा प्रवेश गर्दा अन्तरिक्षयान विशेष कोणबाट प्रवेश गर्दछ ।
यो कोण ९४.७१ डिग्रीदेखि ९९.८० डिग्रीसम्मको हुन्छ । प्रत्येक प्रवेश कोणबाट पृथ्वीको वातावरणमा प्रवेश गरेपछि क्याप्सुलको माथिल्लो भाग पूर्णरुपमा जल्दछ र अन्तरिक्षयात्री बस्ने तल्लो भाग चाहिं प्याराशुट मार्फत पृथ्वीमा आउँछ । यदि यो चरणमा सानोमात्रै पनि त्रुटि भएमा सबै यान जलेर खरानी बन्दछ ।
अन्तरिक्ष यानबारेको यो जानकारीसंगै सुनिता र बुचलाई नलिइकन यान पृथ्वीमा फर्किएको संदर्भ अनि आफ्ना अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउन रुसी क्याप्सुलको प्रयोग नगर्ने अमेरिकी मनस्थितिबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।