२७ असोज ,एजेन्सी ।
छिमेकी मुलुक भारतमा एक चर्चित नेताको गोली हानी हत्या भएको छ । अजित पवार नेतृत्वको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको हो । सिद्दिकी आफ्ना छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो ।
शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलन गरी बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए ।
मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको जानकारी दिएका छन् । पक्राउ पर्नेमा एकजना हरियाणा र अर्का उत्तर प्रदेशका व्यक्ति हुन् । बाबा सिद्दिकीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।
उनी आफ्नो इफ्तार पार्टीका लागि पनि निकै चर्चित थिए । यता लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले पनि पूर्वसांसद एवं एनसीपी नेता बाबा सिद्दिकीको हत्यामा शोक र समवेदना व्यक्त गरेका छन् ।
राहुल गान्धीले आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘बाबा सिद्दीकीजीको दुःखद निधन स्तब्ध पार्ने र दुःखद छ । यस कठिन समयमा उनको परिवारप्रति मेरो समवेदना छ।’ उनले अगाडि लेखेका छन्, ‘यो डरलाग्दो घटनाले महाराष्ट्रमा कानुन र व्यवस्थाको पूर्ण असफलता उजागर गर्छ ।
सरकारले जिम्मेवारी लिनुपर्छ र न्याय दिनुपर्छ।’ यस्तै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि सिद्दिकीको हत्याप्रति दुःख व्यक्त गरेका छन् । उनले ‘एक्स’मार्फत सिद्दिकीको हत्यामा प्रतिक्रिया दिँदै अपराधीलाई यथाशीघ्र कडा कारबाही गर्न माग गरेका छन् ।
मल्लिकार्जुन खड्गेले लेखेका छन्, ‘महाराष्ट्रका पूर्वमन्त्री श्री बाबा सिद्दिकीको दुःखद निधन शब्दभन्दा पर र स्तब्ध पार्ने खालको छ । दुःखको यस घडीमा म उहाँको परिवार, साथीभाइ र समर्थकहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।’
खड्गेले अगाडि लेखेका छन्, ‘यस मामिलामा न्याय सुनिश्चित गरिनुपर्छ र वर्तमान महाराष्ट्र सरकारले पूर्ण र पारदर्शी अनुसन्धानको आदेश दिनुपर्छ। दोषीलाई जतिसक्दो चाँडो कारबाही गर्नुपर्छ।’ बाबा सिद्यिकी १६–१७ वर्षको उमेरदेखि नै कांग्रेससँग निकट रहेका थिए ।
सन् १९९२ र १९९७ मा उनी कांग्रेसको टिकटमा ‘मुम्बई सिविक बडी’का निम्ति निर्वाचित भए । सिद्दीकी १९९९ मा बान्द्रा (पश्चिम)बाट विधायक निर्वाचित भएका थिए । २००४ र २००९ मा पनि उनले कांग्रेसको टिकटमा सोही सिटबाट चुनाव जितेका थिए ।
सिद्दीकी २००४ देखि २००८ सम्म महाराष्ट्रको विलासराव देशमुख सरकारमा खाद्य आपूर्तिमन्त्री बनेका थिए । उनी सन् २०१४ देखि मुम्बई कांग्रेस कमिटीका उपाध्यक्ष थिए । सिद्दीकी सन् २०००–२००४ सम्म महाराष्ट्र हाउजिङ एन्ड एरिया डेभलपमेन्ट अथोरिटीका अध्यक्ष पनि थिए ।
२०१७ मा ईडीले मनी लाउन्ड्रिङ मुद्दामा बान्द्रामा बाबा सिद्दिकीसँग जोडिएको परिसरमा छापा मारेको थियो । त्यसपछि उनी राजनीतिक रूपमा धेरै सक्रिय भएनन् । उनका छोरा जीशान मात्र बढी सक्रिय थिए । २०१४ मा सिद्दीकी बान्द्रा पूर्वबाट भाजपासँग हारेका थिए ।
तर, २०१९ मा उनका छोरा जीशान सिद्दीकी विजयी भएका थिए । बाबा सिद्दिकीको राजनीतिमा जति प्रभाव थियो, बलिउडमा पनि उत्तिकै रहेको बताइन्छ । उनी बलिउडसँगको निकटताका कारण पनि प्रायः चर्चामा रहन्थे ।
उनी बान्द्रा पश्चिमबाट १५ वर्षसम्म विधायक रहे । उक्त क्षेत्रमा धेरै बलिउड सेलिब्रिटीहरू बस्छन् । हरेक वर्ष रमजानको महिनामा उनको इफ्तार पार्टी चर्चामा रहन्थ्यो । उनको इफ्तार पार्टीमा राजनीतिज्ञबाहेक शाहरुख खान, आमिर खान, सलमान खानदेखि सञ्जय दत्तसम्मका बलिउड सेलिब्रिटी पनि उपस्थित हुने गरेका थिए ।
शाहरुख खान र सलमान खानका बीच वर्षौँसम्म चलेको मनमुटावलाई अन्त्य गर्न बाबा सिद्दिकीले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ । उनी कांग्रेसका वरिष्ठ नेता तथा चर्चित अभिनेता सुनील दत्तको पनि निकट थिए । सञ्जय दत्त र प्रिया दत्तसँग पनि सिद्दीकी परिवारको विश्वासपूर्ण सम्बन्ध छ ।