१ कार्तिक , काठमाण्डौ।
दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । र यसको पहिलो खेल नै रहेको छ, भारतविरुद्ध पाकिस्तान । कुनैपनि खेलकुद प्रतियोगितामा भारत र पाकिस्तानबीच चर्को प्रतिद्वन्द्विता चल्ने गर्छ र यस्तोमा दशरथ रंगशलामा हुने यो खेल सबैको ब्यग्र प्रतिक्षित पनि छ ।
उद्घाटन खेलमा समूह ए मा रहेका यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो ।
त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ । अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनियर र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् ।
टिममा लगभग सबै स्टार खेलाडी छन् । प्रशिक्षक पनि साह्रै अनुभवी छन् र ती हुन्, भारतीय फुटबलमा खेलाडी र प्रशिक्षकका रूपमा चार दशक भन्दा बढी समय बिताइसकेका सन्तोष कश्यप । यस पटक भारतीय टिममा धेरै खेलाडी परिवर्तन भइसकेको छ ।
मुख्य प्रशिक्षक सन्तोष कश्यपले साफ वुमन्स च्याम्पियनसिप आफ्नो लागि नयाँ भए पनि टिम राम्रो रहेको र लक्ष्य उपाधि जित्ने भएको बताएका छन् । भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् ।
अशलताले एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्नका लागि आफू उत्साहित रहेको बताएकी छन् । उनले पाकिस्तानविरुद्धको पहिलो खेल महत्वपूर्ण हुने बताइन् । पछिल्लोपटक सन् २०२२ मा काठमाडौंमै भएको साफ यी दुई टोली समूह चरणमा भिडेका थिए जसमा भारत ३–० ले विजयी भएको थियो ।
समूह ए मा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छ । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । उता पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् ।
पहिलो खेलमै भारतसँग खेल्नु पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक अदिल रिज्कीले बताए । ‘पहिलो खेल नै भारत र पाकिस्तानको बीच छ । यो भन्दा राम्रो के होला । हामी दबाब भन्दा पनि इन्जोए गरेर खेल्छौं,’ उनले भने ।
रिज्कीले गत वर्ष पाकिस्तानले राम्रो खेलहरु खेलेको र ठूला टिमविरुद्ध खेल्न अझ धेरै उत्साहित रहेको बताए । उनले नादिया खान चोटबाट निको भएर फर्कुन राम्रो रहेको बताए । पाकिस्तानकी कप्तान मारिया खानले च्याम्पियनसिप खेल्न आफूहरु उत्साहित रहेको बताएकी छिन् ।
अमेरिकामा जन्मिएकी पाकिस्तानी फुटबलर हुन् मारिया खान । उनले दुई वर्षअघि काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप २०२२ यता पाकिस्तानी टिमको कप्तानी गरिरहेकी छन् । उनी गत वर्ष साउदी अरेबियाको पहिलो महिला फुटबल क्लब इस्टर्न फ्लेम एफसीमा अनुबन्धित भएकी थिइन् ।
मिडफिल्डमा प्रभाव देखाउँदै आएकी ३३ वर्षीया उनले युएईमा पनि खेलेकी छन्। उनकै उत्कृष्ट प्रदर्शनमा पाकिस्तान गत वर्ष साउदीमा भएको चार देशीय प्रतियोगितामा उपविजेता भएको थियो । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी मारियाले फ्रिकिकमा सनसनीपूर्ण गोल गरेपछि साउदीलाई १–१ को बराबरीमा रोकेको थियो ।
साफ २०२२ मा भारतविरुद्ध ३–० र बंगलादेशविरुद्ध ६–० ले हारेपछि पाकिस्तानले माल्दिभ्सविरुद्ध इतिहासकै सबभन्दा फराकिलो ७–० को जित हात पारेको थियो । यसपालि पाकिस्तान पाँचपल्टको विजेता भारत र डिफेन्डिङ च्याम्पियन बंगलादेशको रहेको कठिन समूहमा परेको छ ।
मारियाकै नेतृत्वमा दशरथ रंगशालामा दुई वर्षपछि फर्कँदा पाकिस्तानले बिहीबार भारतविरुद्ध सुधारिएको खेल पस्किने आशा गरिएको छ । यद्यपि, दक्षिण एसियाली महिला फुटबलमा भारत जहाँ महाशक्ति हो, त्यहीँ पाकिस्तान कमजोर टिम ।
डर छ, कतै यो एकपक्षीय खेल हुने त होइन ? तर पुरानो समय बतिसकेको पाकिस्तानी कप्तान बताउँछिन् । समयसँगै हामी सुधारिएका छौं,’ पाकिस्तानी कप्तान मारिया खान भन्छिन् । यता भारतीय कप्तान अशालता देवी र बाला देवी, मणीपुरका यी दुवै खेलाडी भारतीय महिला फुटबलका ‘लिजेन्ड’ हुन् ।
बालादेवीले पाकिस्तानविरुद्ध एक गोल मात्र गरे त्यो हुनेछ, भारतका लागि कोशेढुंगा ५० औं गोल । अनि अशालता भने पाकिस्तानविरुद्ध आफ्नो सयौं कोशेढुंगा ‘क्याप’ जित्दै छिन् । अशालताले सन् २०११ मा भारतका लागि डेब्यु गरेकी थिइन् ।
उनी भन्छिन्, ‘हामी सबै प्रतियोगितालाई लिएर उत्साहित छौं । हामी राम्रो प्रदर्शन गर्न पनि तयार छौं । बालादेवीको पुनरागमनले भारतीय टिम अझ बलियो भएको छ । पहिलो खेल रोमाञ्चक हुनेछ ।’ असलतादेवीलाई पन्छाउँदै गोलपोष्टतर्फ अगाडि बढ्न दक्षिण एसियाली क्षेत्रका स्ट्राइकरलाई गाह्रै पर्ने गर्छ।
उनी खेल मात्रै होइन, टिमलाई कठिन अवस्थामा सम्हाल्न पनि सिपालु छिन् । त्यसैले सन् २०१८ यता निरन्तर भारतको कप्तानी गरिरहेकी छन्। उनी यसैपालि इन्डियन वुमेन्स लिग क्लब इस्ट बेंगालमा आबद्ध भएकी छिन्। एएफसी वुमेन्स प्लेयर अफ द इयर २०१९ कपो मनोनयनमा परेकाले पनि उनी कति राम्रो खेलाडी हुन् भन्ने प्रस्ट हुन्छ ।
भारत र पाकिस्तानबीच अहिलेसम्म दुई खेल मात्रै भएका छन् । त्यसमध्ये पहिलो खेल सन् २०१० को थियो, जति बेला भारत आफ्नो छिमेकी चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध ८–० ले विजयी रहेको थियो । भारत यो साफमा फिफा वरीयतामा सबभन्दा माथिको टिम हो भने पाकिस्तानले एकपल्ट सेमिफाइनल (साफ २०१०) खेलेको छ ।