२२ असार , काठमाडौं ।
नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका प्रभावले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । सोमबार पनि कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसबीच बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न २४ वटा जिल्लामा बाढीको मध्यम जोखिम छ । पश्चिम क्षेत्र कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भएर बहने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
त्यस्तै काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग, पाल्पा र आसपासका जिल्ला भई बहने नदीमा पनि बाढीको मध्यम जोखिम हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भोलि र पर्सि पश्चिम सेती, महाकालीलगायतका नदीमा बहाब उल्लेख्य बढ्न सक्ने अनुमान छ । महाशाखाले मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र बाढीको जोखिमबाट जोगिन पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।