७ साउन , काठमाण्डौं ।
नेकपा (माओवादी केन्द्र) का नेता, सांसद तथा पूर्वमन्त्री सुदन किराँतीले सुनसरीको धरानमा बनाइएको आफ्नो सालिकलाई हटाउन आग्रह गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत उक्त सालिक ’कसैले नदेख्ने र कहिल्यै नभेट्ने गरी’ गाडिदिन धरान उपमहानगरपालिकासँग विनम्र अनुरोध गरेका छन् ।
आफ्नो फेसबुक स्टाटसमा उनले सालिक निर्माण गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै लेखेका छन्,“धरानमा मेरो सालिक बनाइदिनुहुने सबैलाई हृदयभित्रबाटै उच्च सम्मान गर्दछु। तर सबैमा स्मरण रहोस्, मलाई मेरो सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन।“
उनले व्यक्तिपूजा र सालिक संस्कृतिको सैद्धान्तिक रूपमा आफू विरोधी रहेको स्पष्ट पार्दै थप लेखेका छन्, “साँच्चै भन्नुपर्दा, मान्छेको सालिक बनाउने र सालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ। फेरि मैले सालिक बनाउनु पर्ने किसिमको देशलाई योगदान पनि के नै पो गरेको छु र?“
सांसद किराँतीले आफ्नो सन्देशमा सामाजिक सञ्जालमा हुने गरेका असभ्य र निम्नस्तरीय टिप्पणीप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।
उनले लखेका छन्, “कुनै पनि विषयमाथि प्रतिक्रिया हेर्दा महसुस भयो कि, शब्दहरूले आफैँ आत्महत्या गरिरहेको छ। सामाजिक सञ्जालमा विचार व्यक्त गर्दा स्वाभाविक रूपमा दुनियाँसामु आफ्नो योग्यताको पनि मापन भइरहेको हुन्छ। त्यसैले सभ्य र स्तरीय टिप्पणी गर्दा हामी सबैका लागि स्वस्थकर हुन्छ होला।“
सांसद किराँतीको यो सन्देशको पृष्ठभूमि धरानका मेयर हर्क साम्पाङसँगको पुरानो विवादसँग जोडिएको देखिन्छ। गत वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहँदा किराँतीले प्राविधिक अध्ययनका आधारमा धरानमा विमानस्थल निर्माण सम्भव नभएको निष्कर्ष सार्वजनिक गरेका थिए ।
उक्त घोषणापछि मेयर साम्पाङले मन्त्री किराँतीविरुद्ध सामाजिक सञ्जालमा आक्रामक रूपमा प्रस्तुत हुँदै कडा आलोचना गरेका थिए । फागुन १५ गते नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल व्यावसायिक रूपमा सम्भाव्य नभएको विज्ञप्ति जारी गरेपछि मेयर साम्पाङले मन्त्री किराँतीलाई लक्षित गर्दै एकै दिन ७ वटा स्टाटस लेखेका थिए ।
उनले किराँतीले कुलकै बेइज्जत गरेको र राज्यको ढुकुटीको सत्यानाश मात्रै गरेको जस्ता गम्भीर आरोपहरू लगाएका थिए ।
यही तनावपूर्ण सम्बन्धको पृष्ठभूमिमा सांसद किराँतीको पछिल्लो स्टाटसलाई विवादलाई थप बढाउनुको सट्टा शान्त पार्ने प्रयास गर्दै आफूले धरानका लागि केही नगरेको भन्दै धरानमा निर्मित सालिक गाडिदिन अनुरोध गरेका छन् ।