१२ असोज, काठमाण्डौ ।
एसिया कपको उपाधिका लागि आज साविक विजेता भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ८ बजेबाट सुरु हुनेछ ।
सुपर फोरका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । भारत सुपर फोरको पहिलो र पाकिस्तान दोस्रो स्थानमा रहेर फाइनलमा भेट हुन लागेका हुन् । जारी प्रतियोगितामा भारत अपराजित टोली हो ।
प्रतियोगितामा दुई समूहमा गरी ८ टोली सहभागी थिए, जसमा भारत र पाकिस्तानसँगै, अफगानस्तान, बंगलादेश, श्रीलंका, ओमान, यूईए र हङकङ चाइना रहेका थिए ।
भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दुई पटक खेल भएको छ । दुवै खेलमा भारत विजयी भएको छ । त्यसैले आजको फाइनलमा पाकिस्तानका लागि चुनौती थप कठिन हुने अनुमान गरिएको छ ।
फाइनलमा भारत उच्च मनोबलसहित उत्रिनेछ भने पाकिस्तान यसअघिका हारको बदला लिने मनसायका साथ उत्रिनेछ । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्न लागेका हुन् ।
भारतले आठ पटक एशिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ । केही महिनाअघि भारतको जम्मु कश्मिरको पहलगाममा भएको आक्रामणपछि यी दुई देशबीच तनाव भएको थियो ।
त्यसयता भारतीय खेलाडीले पाकिस्तानको टोलीसँग हात समेत मिलाएका छैनन् । त्यसैले आज हुने फाइनल खेललाई निकै महत्त्वका साथ हेरिएको छ । यी दुई देशबीचको प्रतिस्पर्धा खेलका रुपमा मात्र नभइ खैल मैदानमा आक्रामक प्रतिस्पर्धा हुनेछ ।