१० कार्तिक , काठमाण्डौ ।
नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु भएको छ । जसका कारण केही भूभागमा आज वर्षा हुनेछ । हाल देशमा पश्चिमीवायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।
सातवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ ।
बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिन अनुसार आज छठको मुख्य दिन देशभर मौसम आंशिक बदली रहनेछ। सबै प्रदेशका पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम बदली रही तराईका क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान छ । गण्डकीका पहाडी तथा हिमाली थोरै ठाउँ तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै मंगलवार पनि दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम बदली रहनेछ । मंगलवार तराईका क्षेत्रमा पनि मौसम आंशिक बदली रहने मौसमविद्को अनुमान छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ । मंगलवार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा बदली रही तराई भागमा आंशिक बदली हुने सम्भावना छ ।
गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाको तीन दिने मौसमी बुलेटिनमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार मंगलवारपछि पानी पर्ने सम्भावना छ । यो क्रम शुक्रवारसम्म रहनेछ । अहिले बंगालको खाडी र अरब सागरमा दुई वटा पानी पार्ने प्रणाली बनिरहेका छन् ।
त्यसले नेपालमा शुक्रवारसम्म वर्षा गराउने सम्भावना देखिएको उनले बताएका छन् । पूर्वी नेपालमा अलि धेरै पानी पर्न सक्ने अनुमान छ । अरू क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद् पोखरेलको अनुमान छ ।
यतिबेला किसान धान काट्न व्यस्त भएकाले काटेको धान तत्कालै भित्र्याउन र मंगलवारदेखि पानी पर्न सक्ने सम्भावना रहेको हुँदा ४÷५ दिन सकभर धान काट्ने र भित्र्याउने काम नगर्न पनि किसानलाई सल्लाह छ ।
यस्तै मौसमविद् धर्मराज उप्रेतीका अनुशार अरब सागर र बङाल को खाडीमा उत्पन्न उत्पन्न नयाँ प्रणालीले भारत को आन्द्र प्रदेश –उडिसा लगायत तटीय क्षेत्र, गुजरात क्षेत्र मा आज कार्तिक १० देखि भारी–अति भारी वर्षा गराउने पुर्वानुमान गरिएको छ ।
उनका अनुशार नेपाल को पश्चिमी क्षेत्रमा अरब सागरको उत्पन्न प्रणालीको हल्का असर कार्तिक ११–१२ मा सुदुर पश्चिम, कर्णाली र लुम्बिनी को तराईमा हल्का असर तर पाहाड र हिमाली क्षेत्रको केहि भागमा मध्यम वर्षा अनि उच्च हिमाली क्षेत्रमा हिमपात हुने संभावना देखिन्छ ।
बङालको खाडीमा विकसित हुन लागेको प्रणालीको असर उत्तरी भागमा बिस्तारै आउदै गर्दा कार्तिक १४–१५ गते भने बागमती, मधेस प्रदेश र कोशी प्रदेशका धेरै ठाउँमा मध्यम देखि भारी वर्षाको संभावना रहेको उनले बताएका छन् ।
उनले धान भित्र्याउन, पराल आदिको सुरक्षामा बिशेष ध्यान दिन र १४–१५ कार्तिकमा काठमाडौं लगायत पुर्बी नेपालको हवाई तथा स्थलमार्ग प्रभावित हुन सक्ने बताएका छन् ।









