२० मंसिर, काठमाण्डौ ।
आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप–२०२६ को समूह विभाजन सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अमेरिकाको वासिंटन डिसीमा एक समारोहबीच प्रतियोगिताको समूह विभाजन गरेको हो ।
फिफाको ‘ड्र’ अनुसार साविक विजेता अर्जेन्टिना सहज समूहमा परेको छ । कतार विश्वकप–२०२२ को च्याम्पियन अर्जेन्टिना समूह ‘जे’मा छ । यो समूहमा अर्जेन्टिनासँगै, अल्जेरिया, अस्ट्रिया र जोर्डन छन् । साविक उपविजेता फ्रान्स समूह ‘आई’मा छ ।
यो समूहमा फ्रान्ससँगै सेनेगल, नर्वे र प्लेअफ–२ बाट आउने टिमले प्रतिस्पर्धा गर्नेछन् । पाँच पटकको च्याम्पियन ब्राजिल समूह ‘सी’मा परेको छ । यो समूहमा ब्राजिलसँगै गत संस्करणको सेमिफाइनलिस्ट मोरोक्को, हाइटी र स्कटल्यान्ड छन् ।
प्रतियोगिताको यो संस्करणमा कुल ४८ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी १२ समूहमा विभाजन गरिएको छ । जसमध्ये हालसम्म ४२ टिमको टुंगो लागिसक्दा बाँकी ६ टिम भने प्लेअफबाट छनोट हुनेछन् ।
विश्वकप आगामी वर्षको जुन ११ देखि जुलाई २० सम्म अमेरिका, मेक्सिको र क्यानडाका विभिन्न सहरमा आयोजना हुने तालिका छ ।

समूह विभाजन अनुशार :
समूह ‘ए’– मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपियन प्लेअफ–डी
समूह ‘बी’– क्यानडा, युरोपियन प्लेअफ–ए, कतार र स्वीट्जरल्यान्ड
समूह ‘सी’– ब्राजिल, हाइटी, मोरोक्को र स्कटल्यान्ड
समूह ‘डी’– अमेरिका, पराग्वे, अस्ट्रेलिया र युरोपियन प्लेअफ–सी
समूह ‘इ’– जर्मनी, क्युराकाओ, आइभेरी कोस्ट र इक्वेडर
समूह ‘एफ’– नेदरल्यान्ड्स, जापान, युरोपियन प्लेअफ–बी र ट्युनिसिया
समूह ‘जी’– बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड
समूह ‘एच’– स्पेन, केप भर्ड, साउदी अरेबिया, उरुग्वे
समूह ‘आई’– फ्रान्स, सेनेगल, प्लेअफ–२, नर्वे
समूह ‘जे’– अर्जेन्टिना, अल्जेरिया, अस्टिया र जोर्डन
समूह ‘के’– पोर्चुगल, प्लेअफ–१, उज्वेकिस्तान र कोलम्बिया
समूह ‘एल’– इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा
यसैबीच नेपाली लिग च्याम्पियन एपीएफले साफ वुमेन्स क्लब च्याम्पिनयसिप २०२५ मा शुक्रबार विजयी सुरुआत लिएको छ । उसले दशरथ रंगशालामा भएको खेलमा बंगलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० ले हराएको हो ।
रश्मिकुमारी घिसिङले ३८ औं मिनेटमा गोलको खाता खोलिन् । मीना देउवाको ब्याक पासमा रश्मिले बललाई सजिलै पोस्टको दिशा दिइन् । मीनाले ७१ औं मिनेटमा दोस्रो गोल थपिन् । उनले एक्लै बल अगाडि बढाउँदै सुन्दर गोल गरिन् ।
रश्मिले ८१ औं मिनेटमा तेस्रो गोल थपिन् र यसका लागि उनले पेनाल्टी एरियाबाट सहज प्रहार गरिन् । मीनाले दोस्रो हाफको इन्ज्युरी समयमा चौथो तथा आफ्नो दोस्रो व्यक्तिगत गोल गरिन् । यससँगै एपीएफको ३ अंक भएको छ ।
नसरिन भने शून्य अंकमा रह्यो । शुक्रबार नै भएको उद्घाटन खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र कराँची सिटी एफसीले गोलरहित बराबरी खेलेका थिए । यससँगै दुवै टिम १÷१ अंकमा रहेका छन् ।










