२६ फागुन , काठमाण्डौ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई बधाई दिएका छन् । पुटिनले मोज्तबालाई बधाई सन्देश पठाउँदै इरान सशस्त्र आक्रामकताको सामना गरिरहेको अवस्थामा यो शीर्ष पद अपार साहस र आत्मबलिदानको आवश्यकता हुने बताएका छन् ।
उनले मोज्तबाले आफ्ना दिवंगत पिताका कार्यहरूलाई सम्मानका साथ अगाडि बढाउने र यी कठिन परिस्थितिहरूमा इरानी जनतालाई एकजुट राख्न सफल हुने विश्वास पनि व्यक्त गरेका छन् । रुस र इरानबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । गत वर्ष मात्रै दुवै देशले एक रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए, जसमा सैन्य सहयोग पनि समावेश छ ।
यद्यपि, रुस र उत्तर कोरियाको साझेदारी विपरीत, यसमा कुनै एक देशमाथि हमला भएको अवस्थामा पारस्परिक सैन्य सहायताको सीधा प्रावधान नभएको स्पष्ट पारिएको छ । पुटिनले तेहरानप्रति मस्कोको अटल समर्थन र ऐक्यबद्धता दोहो¥याउँदै रुस सधैँ इरानको एक विश्वसनीय साझेदार रहेको र भविष्यमा पनि रहने बताए ।
यसअघि पुटिनले अमेरिका–इजरायल हमलाको सुरुवाती चरणमा मोजतबाका पिता आयतोल्लाह अली खामेनीको हत्याको कडा निन्दा गरेका थिए । २८ फेब्रुअरीमा भएको भीषण हमलामा मोज्तबा खामेनी बचेका भए पनि उनले आफ्नी पत्नी र एक छोरा गुमाएका थिए । यता चीनले भने इरानमा नयाँ सर्वोच्च नेताको चयनपछि उत्पन्न अन्तर्राष्ट्रिय प्रतिक्रियाका बिच यो निर्णय पूर्णरूपमा इरानको आन्तरिक विषय भएको स्पष्ट गरेको छ ।
बेइजिङले सोमबार इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताउँदै नयाँ नेताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेप वा लक्षित कारबाहीको विरोध गर्ने जनाएको छ । यता इजरायली सेनाले खामेनीका ‘कुनै पनि उत्तराधिकारी’ लाई लक्षित गर्न सक्ने चेतावनी दिएको छ ।
डोनाल्ड ट्रम्पले यसअघि मोजतबा खामेनीलाई ‘हल्का तौलको’ नेता भन्दै आलोचना गरेका थिए । साथै नयाँ इरानी नेता चयन गर्ने प्रक्रियामा अमेरिकाको पनि भूमिका हुनुपर्ने उनको धारणा रहेको टिप्पणी सार्वजनिक भएको थियो । यस विषयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले इरानले नयाँ नेता चयन गरेको निर्णय ‘यसको संविधानअनुसार गरिएको आन्तरिक प्रक्रिया’ भएको बताए ।
नयाँ नेताविरुद्ध सम्भावित कारबाहीबारे सोधिएको प्रश्नमा उनले चीन अन्य देशको आन्तरिक मामिलामा कुनै पनि बहानामा हस्तक्षेप गर्ने कार्यको विरोध गर्ने नीति कायम राखेको स्पष्ट पारे । गुओका अनुसार चीनले इरानको सार्वभौमिकता, सुरक्षा तथा क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने धारणा राख्दै आएको छ ।
उनले सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता पनि औँल्याए । बेइजिङलाई तेहरानको घनिष्ठ साझेदार मानिन्छ । चीनले पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको निन्दा गरिसकेको छ । तर त्यससँगै खाडीका छिमेकी देशहरूतर्फ इरानले गरेका आक्रमणप्रति पनि चीनले असन्तुष्टि व्यक्त गरेको छ ।
क्षेत्रीय तनाव कम गराउने प्रयासस्वरूप चीनले कूटनीतिक पहल पनि अघि बढाएको जनाएको छ । मध्यपूर्वका लागि चीनका विशेष दूत झाई जुनले आइतबार साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहानसँग भेटघाट गरेका थिए । भेटमा उनले क्षेत्रीय तनाव कम गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको बताइएको छ ।
झाई जुनले वार्ताका क्रममा तत्काल सैन्य कारबाही रोक्नुपर्ने र परिस्थितिलाई थप जटिल बन्न नदिन आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनले क्षेत्रीय देशका सर्वसाधारण नागरिकहरूलाई थप क्षति नहोस् भन्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।
यसअघि आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीले पनि जारी युद्धप्रति चिन्ता व्यक्त गर्दै यस्तो सङ्घर्ष ‘कहिल्यै हुनु नपर्ने’ उल्लेख गरेका थिए । उनले युद्ध अन्त्य गर्न सबै पक्षले प्रयास गर्नुपर्नेमा जोड दिएका थए । यसबीच इरानमा युद्ध अन्त्य गर्ने विषयमा डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाको अभियान चाँडै सकिन सक्ने तर यो हप्ता नै समाप्त नहुने बताएका छन् ।
ट्रम्पले भनेका छन्, ‘इरानसँग जे–जे थियो, लगभग सबै समाप्त भइसकेको छ, यहाँसम्म कि उनीहरूको नेतृत्व पनि कमजोर भइसकेको छ ।’ इजराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनमा त्यस्तो घोषणा गरेका हुन् । उनको सो टिप्पणी युद्धका कारण नराम्ररी प्रभावित भएका अमेरिका र विश्वभरका सेयर बजारलाई शान्त पार्न गरिएको मानिन्छ ।
ट्रम्पले सोमबार एक पत्रकार सम्मेलनमा त्यसो भने पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले (आइआरजिसी) भने “युद्धको अन्त्य कहिले हुने भन्ने कुरा आफूहरूले तय गर्ने“ बताएको भनेर विभिन्न अमेरिकी मिडियाले जनाएका छन् । अमेरिका र इजराइलको आक्रमण जारी रहेमा इरानले यस क्षेत्रबाट एक लिटर तेल पनि निर्यात हुन नदिने आइआरजिसीले चेतावनी दिएको भनेर इरानी सरकारी सञ्चारमाध्यमको हवाला दिँदै अमेरिकी मिडियाले लेखेका छन्।
त्यसको प्रतिउत्तरमा आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा पोस्ट गर्दै इरानले त्यसो गरेमा अहिलेको भन्दा २० गुणा कडा आक्रमण गर्ने धम्की ट्रम्पले दिएका छन् । साथै यसबीच रुसी राष्ट्रपति पुटिनसँग कुराकानी गरेको पनि ट्रम्पले बताएका छन् । कुराकानीको क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको र पुटिनले सहयोग गर्न चाहेको ट्रम्पको भनाइ छ ।
ट्रम्पका अनुसार उनले पुटिनलाई ‘यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ’ भनेका थिए । अमेरिका–इजरायलले ११ दिनदेखि इरानमा हवाई आक्रमण जारी राखेका छन् । यसैबिच ट्रम्पले सोमबार राति इरानमा अझ ठुलो शक्तिका साथ हमला गरिने धम्की दिएका हुन् ।
उनले भनेका छन्, ‘यदि इरानले हर्मुज स्ट्रेटमा तेल आपूर्ति रोक्न खोज्यो भने अमेरिकाले २० गुणा बढी बल प्रयोग गरेर आक्रमण गर्नेछ। यो युद्ध शत्रु पूर्ण रूपमा नष्ट नभएसम्म जारी रहनेछ।’ यस क्रममा ट्रम्पले अमेरिका र इजरायल मिलेर अहिलेसम्म इरानमा ५ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘केही महत्त्वपूर्ण लक्ष्यलाई जानाजानी छाडिएको छ ताकि आवश्यक परेमा पछि कारबाही गर्न सकियोस्।’ फ्लोरिडाको डोरालमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिका र इजरायलले जारी युद्धमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए ।