६ वैशाख , काठमाण्डौ।
अहिले सामान्य एमाले कार्यकर्ताले पनि बुझिसकेका छन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष बन्न तम्सिरहेकी छन् अनि वर्तमान अध्यक्ष केपी शर्मा ओली चाहिं एमालेलाई नेकपासँग एकीकरण गरेर भएपनि भण्डारीलाई रोक्न खोजिरहेका छन्। फागुन २१ को निर्वाचनमा अध्यक्ष ओलीलाई बालेन शाहले हराएकै कारण अहिले एमालेभित्र विशेष महाधिवेशनको दबाब अभियान सञ्चालन भइरहेको छ।
अनि यसको फ्रन्टमा छिन्, पूर्व राष्ट्रपति भण्डारी। उनका पछिल्ला गतिविधिहरू विशेषगरि ’चुनावी हारको नैतिक जिम्मेवारी ओलीले लिनुपर्छ’ भन्ने उनको अभिव्यक्तिलगायतले उनी पार्टी पुनर्गठनमा थप सक्रिय भएको पुष्टि गर्छ।
एमाले पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीले शुक्रबार पार्टीका पदाधिकारी तथा २४ जनवर्गीय संगठनका प्रतिनिधिहरूसँग छलफल गरिन्।
रोचक चाहिं के भने, ओलीनिटक भनेर चिनिने सचिव भानुभक्त ढकाल २४ जनसंगठनका प्रतिनिधिलाई लिएर थापागाउँस्थित भण्डारीको सम्पर्क कार्यालय पुगेका थिए। त्यसबाहेक एमालेका युवा, विद्यार्थी, पार्टीकै केन्द्रीय नेतासँग पनि नियमित छलफल, भेटघाट गरिरहेकी छन्। पार्टीभित्र गुम्सिँदै गएको निराशा र हतासासमेत बुझिरहेकी छन्।
ओलीलाई तीनपटक भेटेर पार्टी पुनर्गठनको प्रस्ताव राखिसकेकी पूर्वराष्ट्रपति भण्डारीले एमालेका नेताहरुसँगको भेटलाई पनि सघन बनाएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले बताए। सँगैमा अहिले दुई ठूला कम्युनिष्ट शक्तिहरू एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नेताहरूबीच सहकार्यका लागि सुरू भएको संवादले मूर्त रूप लिंदैछ ।
बिहीबार आगामी सहकार्यको नाममा एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव लेखराज भट्ट र नेकपाका नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरूबीच संवाद भएको थियो। त्यसले एक चरण अगाडी पुगेर शुक्रबार शीर्ष नेतृत्व तहमै पुग्यो। अस्पतालमा उपचार गराइरहेका एमाले अध्यक्ष ओली भेट्न नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड टिचिङ अस्पताल पुगेर एकताको छलफल गरिएको बताइन्छ।
एमाले स्रोतका अनुशार त्यसअघि ओलीको सन्देश बोकेर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेतालाई भेटेका थिए। संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल अनि झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा करिब ४ घण्टा छलफल गरेको बताइन्छ।
त्यसपछि मात्र प्रचण्ड ओलीलाई भेट्न पुगेका हुन्। मंसिर ०८२ मा हुने स्थानीय र प्रदेशको निर्वाचनसम्मै सहकार्यका लागि ठोस आधार बन्नेगरी छलफल भइरहेको छ। निर्वाचनले खुम्चाइदिएका एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्ड ‘संविधान निर्माता’ नेताको हैसियतले राष्ट्रियता, संविधान संशोधनका मुद्दामा सहकार्य गर्ने मनस्थितिमा पुगेको नेताहरू बताउँछन्।
एमाले उपमहासचिव लेखराज भट्टले संविधान निर्माता दलहरूबीच सहकार्य गर्ने अर्थमा एमाले र नेकपा नेताबीच संवाद भइरहेको बुझेको बताए। ‘अहिले एकतामा जानेभन्दा राष्ट्रिय मुद्दामा सहकार्य गरेर जानुपर्छ भन्ने अर्थमा मैले बुझेको छु। संविधानको रक्षा, राष्ट्रियतालगायतक मुद्दामा सहकार्य हुन सक्छ,’ उनले भने।
खासमा एमाले पुनर्गठनको अभियानमा लागेकी भएपनि भण्डारी सतहमा देखिनेगरि आकलझुकल मात्र खुलिरहेकी छन्। उनले पार्टीभित्र संस्थापनसँग संघर्ष गर्दै ओलीको बहिर्गमनका लागि उपाध्यक्ष विष्णु पौडेलसँगको सहकार्यमा तल्लीन देखिन्छन्। यसको सूत्रपात फागुन २१ को निर्वाचन नतिजा आउन थालेदेखिकै हो।
निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि एमालेभित्र नेतृत्व परिवर्तको बहस चल्यो। उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीलाई पदबाट राजीनामाका लागि बाध्य पार्न आफैंले अग्रसरता लिए। फागुन २५ मा विज्ञप्ति नै जारी गर्दै उनले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अपिल गरे।
ओलीलाई सम्मानपूर्वक राजीनामा गराउने नभए जबरजस्ती बहिर्गमन गराउने रणनीतिअनुसार पौडेलको नेतृत्वमा अन्य थुप्रै नेताहरूले आन्तरिक छलफल थालेको समाचारहरू बाहिरिएका थिए। पौडेलले एमालेको बागडोर आफैंले लिने तयारीसहित उपमहासचिव योगेश भट्टराई, उपाध्यक्ष गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङसहित ११औं महाधिवेशनमा अध्यक्षमा पराजित नेता ईश्वर पोखरेलसँग आन्तरिक छलफल गएका थिए ।
यसका लागि पौडेललाई पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि साथ दिएकी थिइन्। आफूलाई ओलीले पार्टी सदस्यता नवीकरण नगरेर अपमानजनक रूपमा पार्टीमा बन्देज लगाएको बताउँदै आएकी भण्डारीले निर्वाचन परिमाणपछि एक टेलिभिजन अन्तर्वार्तामा हारको परिमाण ओलीले व्यहोर्नुपर्ने अनि नैतिक जिम्मेवार पनि ओली नै हुनुपर्ने भनेकी थिइन्।
यही आडमा टेकेर उपाध्यक्ष पौडेलले नेतृत्व फेर्नुपर्ने बहस चलाए। त्यसमा सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापालगायतको साथ् थियो। त्यसो त भण्डारीले २०८२ असार १५ मा सक्रिय राजनीतिमा आउने औपचारिक घोषणा गरेकी थिइन्। यद्यपी ओलीले उनको सदस्यता नवीकरण नगरेपछि उनी सक्रिय राजनीतिमा फर्किन सकिनन्।
आफू माझ किराँतकी छोरी भएको भन्दै एमालेको सक्रिय राजनीतिमा आउन कसैले रोक्न नसक्ने जिकिर गरिरहिन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले ’म एमालेको अध्यक्ष बन्नकै लागि सक्रिय राजनीतिमा आएको हुँ’ भनेकी थिइन्। अहिले फेरि पार्टीभित्र नयाँ नेतृत्व खोजी भइरहेका बेला भण्डारीले सक्रियता देखाएकी छन्।
उनकै आडमा जनसंगठनका केही अगुवा नेता–कार्यकर्ताले विशेष महाधिवेशनको बहस चलाउन थालेका छन्। एमाले विधानको धारा ७३ मा प्रदत्त अधिकार उपयोग गर्दै उनीहरू विशेष महाधिवेशन बोलाउन राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूको हस्ताक्षर जुटाउन लागेका छन्। जबकि एमालेले चुनाव सकिएको ४५ दिनसम्म समीक्षा समेत गरेको छैन।
अर्कोतर्फ कम्युनिष्ट शक्तिहरू ढिलो–चाँडो एकजुट हुनैपर्ने भनिरहेका छन्। विगतमा पनि तत्कालीन माओवादी र एमाले मिलेर देशलाई थोरै समय नै सहि, स्थायित्व दिएको भन्दै अहिले फेरि समयले ओली र प्रचण्डलाई मात्र नभएर साना–ठूला सबै कम्युनिष्ट शक्तिहरूलाई एकजुट हुनु ए मौका दिएको उनीहरूको दाबी छ। विश्लेषक झलक सुबेदी भन्छन्, म नेकपा एमाले, नेकपा र अरू साना–ठुला कम्युनिस्ट घटकहरू विप्लव, घनश्याम, राम कार्की, कमरेड किरण, कमरेड एमबी लगायत सबै समूह–उपसमूहहरू एक होऊन् र मिलेर जाऊन् भन्ने चाहन्छु।
यहीबेला अर्को गहन र महत्वपूर्ण सवाल पनि उठेको छ। त्यो हो– आगामी नेतृत्व कसले गर्ने ? विगतमा पनि नेतृत्वकै विषयलाई लिएर ओली–प्रचण्डबीच झगडा हुँदा पार्टी टुक्रियो। अब फेरि त्यही परिस्थिति दोहोरिनेमा दोस्रो तहका नेताहरू सचेत देखिन्छन्। एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि विचार नमिली हतारोमा गरेको एकता फलदायी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन्।
९ महिनाअघि एक टेलिभिजन अन्तर्वार्तामा विद्याले आगामी महाधिवेशनपछि एमाले नेतृत्वमा ओली नरहने, अध्यक्ष हुनकै लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको, सके सर्वसम्मति र नभए चुनावबाट अध्यक्ष बन्ने बताएकी थिइन्। त्यति मात्र हैन, प्रधानमन्त्रीमा समेत आफ्नो इच्छा रहेको लुकाइनन्। जबकि उनी नेपाली सेनाको परमाधिपति समेत भइसकेकी छन्।
सेनाकै परमाधिपति भइसकेको व्यक्ति कुनै पार्टी विशेष बन्न हुँदैन भन्ने तर्क आएकै कारण उनलाई एमालेमा रोक लाग्यो। अहिले फेरि कतिपय एमाले कार्यकर्ताहरूले नै ओलीले आफू अलोकप्रिय हुँदै गइरहेको बेला विद्यालाई अध्यक्ष बनाएर आफू राष्ट्रपति बनेर राजनीतिक यात्राको सेफ ल्याण्डिङ्ग गराउने खेलमा लागेको भन्ने व्याख्या समेत गरिरहेका छन्।
तर केही समयअघि प्रचण्डले एक अन्तर्वार्तामा ओली र विद्यामा आफूले केही फरक नदेखेको भनेका थिए। हुन पनि मधेस मामिला, संघीयता, पहिचान, माओवादी जनयुद्ध आदि विषयलाई हेर्ने दृष्टिकोण यी सबै नेताको एउटै छ। तत्कालीन अध्यक्ष झलनाथ खनाल विरुद्व घेराबन्दी गर्दा होस् वा मदन भण्डारी फाउन्डेसनबाट राजनीतिक गतिविधि गर्दा होस्, एमालेभित्र ओली–विद्या गुट सधैं सँगै देखियो।
कतिसम्म भने, ओली र भण्डारीले समानान्तर सत्ता चलाएरै आठौं महाधिवेशनसम्म ल्याएका थिए एमालेलाई। ओलीलाई हटाएर विद्या एमालेको अध्यक्ष बन्न तम्सिउनुको चाहि मूलतः दुई कारण छन्। पहिलो, झन्डै एक दशकदेखि एमालेभित्रको ओलीराजले आक्रान्त भएका कार्यकर्ता त्यसबाट मुक्ति चाहन्छन्।
दोस्रो, ओलीको लोकप्रियता घट्नु अनि प्रथम महिला राष्ट्रपतिको ब्राण्ड बिकाएर अन्य वामपन्थीसँग एकता गराउन सकिने देशी–विदेशी चाहना। त्यसमा पनि विद्या त प्रथम महिला राष्ट्रपति मात्र नभएर अहिलेसम्म भ्रष्टाचारको आरोप नलागेकी नेत्री पनि हुन्। अझ भन्नेहरूले ’जनताको बहुदलीय जनवादको उत्तराधिकारी’ पनि भन्छन्।
अहिले विद्यातिर ढल्किएका ईश्वर पोखरेल, गोकुल बाँस्कोटा, योगेश भट्टराई, कर्ण थापालगायतका नेताहरूले यिनै कुरालाई भजाउन खोजिरहेका छन्। फेरि पनि विद्यामाथि यस्ता कयौं प्रश्नहरू छन्, जसको जवाफ न विद्याले दिएकी छन् न त उनको समूहका नेताहरूले नै। जस्तो कि, संघीयता र पहिचानबारे विद्याको लाइन के हो ? माओवादीसँको पार्टी एकताबारे के चाहन्छिन् विद्या ?
कांग्रेससँग अहिले भइरहेको गठबन्धनबारे विद्या किन मौन छिन् ? एमालेको राजनीतिक–वैचारिक लाइन र संगठनात्मक सिद्धान्तमा विद्या आएपछि के फरक हुन्छ ? राष्ट्रपति हुँदा नागरिकता विधेयक रोक्नुपर्ने कारण के थियो ? ओलीले दुई÷दुई पटक गरेको संसद विघटनलाई सर्वोच्चले दुवै पटक उल्ट्याइदिएको हैन ? तर, यी तमाम प्रश्नको जवाफ विद्यासँग छैन।
छ त केवल मदन भण्डारीको लिगेसी बलियो छ, जसले अहिलेसम्म काम गरिरहेको छ। मदन भण्डारीको दुर्घटनामा मृत्यु भएसँगै राजनीतिमा सक्रिय भएकी उनी सांसदसँगै मन्त्रीसम्म भइन्। त्यसपछि पहिलो महिला राष्ट्रपतिको रेकर्ड समेत राखिन्। त्यतिले पनि नपुगेर अहिले बिना एजेन्डा एमालेमा फर्किने उत्कृष्ट इच्छा ।
एजेन्डाविहीन व्यक्ति जुनसुकै पदमा पुगोस्, जतिसुकै शक्तिशाली बनोस्, त्यसबाट देशले केही प्रगति गर्दैन। विश्लेषक भन्छन्, अझ त्यसमा पनि विद्याको आगमनले एमालेमा कुनै दार्शनिक, सैद्धान्तिक, नीतिगत, सांगठनिक विकास हुन्छ र देशका राजनीतिक, सामाजिक, आर्थिक विकास, रोजगारी वा वर्तमान समयका समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी पनि छैन, किनभने त्यसको सुनिश्चितता स्वयम् विद्याबाट भैसकेको छैन।
सायद यही मर्मलाई बुझेर अघिल्लो असार १४ मा मदन भण्डारीको ७४औं जन्म जयन्तीमा ओलीले एमालेमा कुनै ‘तहल्का’ नहुने भनेका थिए। ‘विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, डाङडाङ डुङडुङ ! यहीँबाट एमाले ध्वस्त हुन शुरू गर्छ… यो सपना देखेर बसेका छन्। कुनै बम, बन्दुक, बारुद, गोला केही पड्किनेवाला छैन। आश नगरे हुन्छ’ उनले भनेका थिए।


