विराटनगर, माघ १३
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे क्यानडा जाने भएका छन् । एक नम्बर प्रदेशको आइतबार बसेको मन्त्री परिषद्को बैठकले विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले मन्त्री घिमिरे क्यानडा जाने विषयमा गरेको प्रस्तावको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकले अन्य विभिन्न निर्णयहरु पनि गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा योजना मन्त्रालय अन्तरगत प्रादेशिक विशेष सडक निर्माण आयोजनाको कार्यालय स्थापना गर्न अनुमति प्रदान गरेको छ ।
त्यस्तै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको योजना तथा कार्यक्रम संचालन कार्यविधि २०७५ लाई स्वीकृति प्रदान गरिएको छ । साथै सोहि मन्त्रालयको संरक्षित क्षेत्र व्यवस्थापन कार्यालय परिषद् मार्फत कार्यक्रम संचालन प्रदान गर्ने समेत अनुमति प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा एक नम्बर सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले बताए ।