एजेन्सी,चैत २५
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकता नाइट राइडर्स शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती जयपुरमा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै शिर्ष स्थान उक्लिन सफल भएको हो ।
१ सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकताले १३.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । कोलकताको सहज जितमाओपनर सुनिल नारायणले २५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । अर्का ओपनर क्रिस लिनले ३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रनमा आउट भए । त्यस्तै रोबिन उथप्पा २६ र शुभ्मन गिल ६ रनमा नट आउट रहे ।
कोलकतालाई सहज जित दिलाउन ओपनर सुनिल नारायण र क्रिस लिनले पहिलो विकेटका लागि ८.३ ओभरमा ९१ रनको साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी श्रेयस गोपालले स्टिभ स्मिथबाट नारायणलाई क्याच गराउँदै तोडेका थिए । ठूलो शट प्रहार गर्ने धुनमा ११ औं ओभरको पाँचौ बलमा क्रिस लिनलाई श्रेयस गोपालले क्याच आउट गराए । राजस्थानका लागि दुवै विकेट श्रेयस गोपालले लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । राजस्थानका लागि स्टिभ स्मिथले ५९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७३ रनमा अविजित पाली खेलेपनि त्यो जितको लागि प्राप्त भएन ।
ओपनर जस बटलरले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा आउट भए । बटलरलाई पाँचौ ओभरको बलमा हेरी गर्नीले सुभमन गिलबाट क्याच आउट गराए । कप्तान अजिंक्या रहाणे ५ र राहुल त्रिपाठ्ठी ६ रनमा आउट भए । कोलकताका ह्यारी गर्नीले २ र प्रसिद्ध कृष्णाले १ विकेट लिए ।
योसँगै कोलकताले ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्स ५ खेलमा ४ मा जित र १ मा हार ब्यहोरेको छ । राजस्थान भने ५ खेलमा १ जितका साथ अंकतालिकाको सातौँ स्थानमा छ ।