साविक विजेता सिमोना हालेप फ्रेन्च ओपन टेनिसको महिलातर्फ तेस्रो चरणमा पुगेकी छन् । दोस्रो चरणको खेलमा पोल्याण्डकी मेग्दा लिनेटलाई २–१ को सेटमा हराउँदै रोमानियन खेलाडी सिमोना तेस्रो चरणमा उक्लेकी हुन् ।
लिनेटविरुद्धको खेल सिमोनाले ६–४, ५–७ र ६–३ ले जितिन् । महिला एकलकै अर्को खेलमा जापानकी कुरुमी नारालाई सोझो सेटमा हराउँदै अमेरिकाकी सेरेना विलियम्स पनि तेस्रो चरणमा पुगेकी छन् । नाराविरुद्धको खेल २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेनाले ६–३ र ६–२ को सोझो सेटमा जितिन् ।
उता, पुरुषतर्फ सर्वियाका नोभाक जोकोभिच तेस्रो चरणमा पुगेका छन् । दोस्रो चरणको खेलमा स्विट्जरल्याण्डका हेन्री लाक्सोननलाई ६–१, ६–४ र ६–३ को सोझो सेटमा हराउँदै जोकोभिच तेस्रो चरणमा उक्लिएका हुन् ।
पुरुष एकलकै अन्य खेलहरुमा विजयी हुँदै फ्रान्सका गेल मोन्फिल्स, रुसका अलेक्जेन्डर भेरेभ र अर्जे्न्टिनाका हुँवा मार्टिन डेल पोत्रो पनि तेस्रो चरणमा उक्लिएका छन् ।