१५ असार, विराटनगर ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आइतबार राष्ट्रिय धान दिवसको अवसरमा धान रोपेका छन् ।
विराटनगर–१८ स्थित फडानी टोलमा धान रोप्दै महानगरपालिकाका प्रमुख पराजुलीले महानगरले वडा नम्बर १८ र १९ लाई कृषिका लागि पकेट क्षेत्रको रुपमा प्राथमिकतामा राखेको बताए । मेयर पराजुलीले दुवै वडामा ५ हजार हेक्टर बढी कृषियोग्य भूमि भएकाले त्यसलाई व्यवस्थित गरेर कृषि परियोजना सञ्चालनमा ल्याउन महानगरपालिकाले तयारी सुरु गरेको जानकारी दिए । कार्यक्रममा सहभागि महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले महानगरभित्रका उब्जाउ जमिनलाई बाँझो नराख्न र त्यस्ता जमिनमा केहि न केहि उत्पादनमूलक कृषि बाली लगाउन आग्रह गरिन् ।
बाजागाजासहित धान रोपाइँ सुरु गरिएको कार्यक्रममा महानगरका मेयर पराजुलीसहित प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १८ का सन्जयकुमार साह, विराटनगर महानगर कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनालगायतले धान रोपाइँमा सहभागीता जनाएका थिए ।