७ असोज, काठमाडौं ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने कामको नेतृत्वआफूले गर्ने दावी समेत गरे ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्याहरुलाई स्वागतगर्दै समाधान गर्न सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
तर त्यसका लागि व्यवसायीहरुले समाधानको उपायसहित समस्या लिएर सरकारसँग आउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगार व्यवसायीको मनमा केहीचोट परेको भए त्यसमा मलम लगाउने पनि बताए ।
कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीहरुको सुझावलाई सरकारले सधैं आत्मासात गर्दै अघि बढेको दावी गरे ।
उनले वैदेशिक रोजगार व्यवसायीहरुको धरौटी वापतको रकमबाट ब्याजको व्यवस्था गरी उनीहरुको स्वास्थ्य उपचारको समेत व्यवस्था सरकारले गरेको पनि स्मरण गराए ।
वैदेशिक रोजगार व्यवसाय सम्बन्धि आएको समस्याको समाधान राजनीतिक तहमा सर्वसम्मतिकाआधारमा सरकारले गर्ने गरेको पनि मन्त्री विष्टको दावी छ । मन्त्री विष्टले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन सरकारले सबै राजनीतिक दलहरुसँग पनि निरन्तर छलफल गरिरहेको बताए ।