डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

काठमाडौँ, फागुन १५
धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगत ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रतियोगिताको सहआयोजक अब जगदम्बा इन्टरप्राइजेज रहनेछ भने आयोजकले सम्पूर्ण प्रवद्र्धनात्मक क्रियाकलापमा जगशक्तिको लोगो प्रयोग गर्नेछ । आगामी चैत १७ गतेदेखि धनगढीमा आयोजना हुने उक्त प्रतियोगितामा काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र टिम चौराह धनगढीको सहभागिता रहनेछ ।

आयोजकका अनुसार करिब रु तीन करोड खर्च लाग्ने उक्त प्रतियोगिताको विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु तीन लाख र चौथो हुनेले रु दुई लाख पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभिएस अपाची १८० सिसीको मोटरसाइकल पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एकजना पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउने एकजनालाई अर्जुन खड्का स्मृति सम्मानस्वरुप जनही रु एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.