२० मङ्सिर,भारत ।
दक्षिणी भारतको हैदराबादस्थित तेलंगनामा २७ वर्षीया महिला पशु डाक्टरलाई बलात्कारपछि हत्या गरेको मुद्दाका चारै संदिग्धलाई प्रहरीले इन्काउन्टरमा मारेको छ ।
शमशाबादका डिसीपी प्रकाश रेड्डीकाअनुसार पुलिसले आरोपीलाई त्यही स्थानमा लगेको थियो जहाँउनीहरुले डाक्टरलाई मट्टीतेल छर्केर जलाएका थिए । उनीहरुलाई उक्त स्थानमा लगेर घटनाको विषयमा सोधपुछ गरिएको थियो । सोधपुछको क्रममा आरोपीले पुलिसको हतियार खोसेर भाग्ने कोसिस गरेर पुलिसमाथि गोली चलाएका थिए त्यसैसमयमा आत्मरक्षामा पुलिसले जवाफी फायरिङ गर्दा चारैजना आरोपी मारिएका हुन् ।
साइबराबादका पुलिस कमिश्नर वीसी सज्जनरले चारै आरोपी शुक्रबार बिहानै ३ देखि ६ बजेको बीचमा शादनगरस्थित चतनपल्लीमा इन्काउन्टरमा मारिएको जानकारी दिए । एक वरिष्ठ पुलिस अधिकारीले घटनामा दुई पुलिसकर्मी पनि घाइते भएको बताए ।