विराटनगर, फागुन २८
आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै नेपालले एकदिवसिय मान्यता पाउने सम्भावना पनि कायमै राखेको छ ।
जिम्बावे स्थित एथ्लेटिक क्लवमा टस जितेर ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनायो । हङकङका लागि निजाकत खानले ४७, बाबर हायातले २० तथा क्रिस्टोफर कार्टर ९ तथा तनवीर अफ्जरले १० रन बनाए ।
उसको २६ रन हुँदा नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाए । त्यसपछि हङकङको स्कोर ५३ रन हुदा बाबर हायातलाई सोमपाल कामीले पेभेलियन फर्काए ।
लगत्तै नेपालले हङकङको तेस्रो विकेट लियो । सन्दिपले हङकङका अन्सुमान राथलाई मात्र १ रनमा पेभेलियन आउट गरे । एक सय १० रनमा ८ विकेट गुमाएको हङकङका लागि अन्तिममा इसान नवाज र इसान खानले ३३ रनको साझेदारी गर्न सफल भए ।
इसान खानले २५ तथा इसान नवाजले १४ रनको योगदान गरे । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २(२ विकेट लिए ।
जवाफमा नेपालले ४० ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । गतिलो सुरुवात गरेको नेपालको मिडिल अडरका खेलाडीले राम्रो खेल्न सकेनन । ४१ रन हुदा पहिलो विकेट गुमाएको नेपालले ६६ रन बनाउँदा ५ विकेट खेर फाल्यो ।
नेपालका अनिल शाहले २६ ज्ञानेन्द्र मल्ल र दिपेन्द्र एरीले समान १२(१२ रन बनाए । तर रोहित पौडेल र सोमपाल कामीले ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहितले अविजीत ४८ रन बनाए भने सोमपालले ३७ रन बनाए ।
नेपालको जीतसँगै अफगानिस्तानले समुह बी बाट सुपरसिक्समा पुगेको छ । सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौंथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।
प्लेअफमा खेल्ने ३ टिममा नेपाल, हङकङ र पपुवा न्यु गिनी हुन् । यी तीन मध्ये शीर्ष स्थानमा रहने टोलीले वानडे मान्यता पाउने छ । नेपालले पपुवा न्यु गिनीसँग खेल्ने छ । हङकङले युएई र नेदरल्यान्ड्स मध्ये एकसँग खेल्ने छ ।