१७ पुस, एजेन्सी ।
बाढीका कारण इन्डोनेसियाको राजधानी जकार्तामा कम्तिमा १६ जनाको ज्यान गएको छ । यस पटकको वर्षा पछिल्लो २४ वर्ष यताकै भारी वर्षा हो । वर्षापछि आएको बाढीले जनधनको क्षति गरेको हो ।
जकार्ताको पूर्वी क्षेत्रमा रहेको विमानस्थलमा रहेको मौसम, जलवायु तथा जिओफिजिक्स एजेन्सी (बिएमकेजी) ले एकै दिनमा ३७७ मिलिलिटर वर्षा भएको जनाएको छ । सन् १९९६ यता एक दिनमा भएको यो सबैभन्दा ठूलो वर्षा हो ।
नयाँ वर्षको सुरुमा भएको वर्षा सामान्य नरहेको एजेन्सीले जनाएको छ । पूर्वी जकार्ताका अधिकांश क्षेत्रमा ३३५ मिलिलिटर भन्दा बढी वर्षा भएको छ । यस्तै बेकासी क्षेत्रमा २५९ मिलिलिटर वर्षा भएको छ ।
एकै दिन १५० मिलिलिटर भन्दा बढी वर्षा भएमा भीषण वर्षाका रुपमा लिने गरिन्छ ।
वर्षाका कारण पहिरो पनि गएको छ । इन्डोनेसियामा सन् २०१३ मा वर्षापछिको बाढीका कारण ४७ जनाको ज्यान गएको थियो । त्यसयताको यो ठूलो क्षति हुने गरी आएको बाढी हो ।