१९ चैत, काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिन मस्जिदमा हालै सम्पन्न भएको धार्मिक भेलामा सहभागी भएका नेपालीहरुका बारेमा नेपाल प्रहरीले खोजी सुरु गरेको छ ।
भेलामा नेपालबाट सहभागी हुनेको संख्या यकिन नभए पनि ३३ जना नेपाली नागरिकलाई भने दिल्लीमै क्वारेन्टाइनमा राखिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । उनीहरुको स्वास्थ्य परीक्षण पनि भएको तर रिपोर्ट भने आइनसकेको पनि दूतावासले जानकारी दिएको छ।
भेलामा सहभागी विभिन्न देशका २४ भन्दा बढी व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यसले भारतमा मात्रै होइन, नेपालसहित विभिन्न देशमा पनि त्रास सिर्जना गरेको छ ।
धार्मिक भेलामा गएका ३३ जना नेपाली यतिबेला अलिपुर नरेला ट्रस्टले सञ्चालन गरेको अपार्टमेन्टमा होम क्वारेन्टाइनमा बसेका छन्।
धार्मिक भेलामा अरु नेपाली पनि गएको हुनसक्ने आशंका गर्दै खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । केही विद्यार्थी पहिलेदेखि नै त्यहाँको मदरसामा रहेको र अरु नेपालबाट भेलामा सहभागी हुन गएको बताइएको छ । धार्मिक भेलामा सहभागी केही नेपाल फर्किएको÷नफर्किएको बारे सुरक्षा निकायहरुबीच समन्वय गरी छानबिन गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । परराष्ट्रको आग्रहअनुसार नै सुरक्षा निकायले खोजबिन सुरु गरेको छ।
प्रहरी उच्च अधिकारीका अनुसार अरु पनि गएका हुनसक्ने भएकाले उनीहरु कहाँ छन् भन्नेबारे अनुसन्धान र खोजीकार्य भइरहेको छ। गएको मार्च ५ देखि १३ सम्म इस्लाम धर्मावलम्बीमध्येकै सुन्नी सम्प्रदायको सामाजिक संगठन तकलिबी जमातले आयोजना गरेको भेलामा विश्वभरका करिब २ हजारभन्दा बढी सहभागी थिए।
भारत सरकारले पनि भेलामा सहभागी सबैको स्वास्थ्य जाँच गरिरहेको छ। मंगलबार बेलुकासम्म निजामुद्दिन करिब एक हजार ५ सय जनालाई उद्धार गरिएको छ। उनीहरुमध्ये केहीलाई होम क्वारेन्टाइनमा राखिएको छ भने धेरैलाई जवाहरलाल नेहरु रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।
कतिपय सम्पर्कबाहिर भएका कारण सुरक्षाकर्मीलाई उनीहरुको खोजीमा परिचालन गरेको छ । २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले मुस्लिम सम्मेलनमा सहभागी वा अन्य कसैलाई पनि सरकारको अर्को आदेश नदिएसम्म प्रवेश निषेध गरिएको बताए।