१९ चैत, बिराटनगर ।
विराटनगरका अस्पतालले धरानबाट रेफर भएकी महिलालाई भर्ना लिन नमानेपछि मृत्यु भएको खबरले जनता निरास भईरहेको बेला विराटनगरस्थित नोबेल अस्पतालले कोरोनासहित सबै रोगको उपचारका लागि नोबेल २४ सै खुल्ला रहने जनाएको छ । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना लागेकासहित सबै किसिमका बिरामीको उपचार गर्न नोबेल अस्पताल तयार रहेको बताएका हुन् ।
कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै उनले नोबेल अस्पताल जस्तोसुकै समस्याको पनि उपचार गर्न २४ सै घण्टा तयार रहेको बताए । जुनसुकै समस्या भएका बिरामीको उपचारमा पनि नोबेल अस्पताल पछि नहट्ने भन्दै उनले सामाजिक सञ्जाल मार्फत पनि सन्देश दिएका छन् ।
नोबेलमा कोरोनाका संभावित बिरामी र अन्य समस्याका बिरामीको उपचारका लागि छुट्टा–छुट्टै उपचार कक्ष पनि निर्माण गरिएको छ । ५० शैयाको आइसोलेसन, ५ वटा भेण्टिलेटरसहितको १० शैयाको आइसोलेसन सघन उपचार कक्ष र २ वटा डेडिकेटेड डायलाईसिस मेसिनसहितको आइसोलेटेड डाइलाईसिससमेतको व्यवस्था गरेको उनले बताएका छन् ।
नोबेलमा कोरोनाका बिरामीको उपचारका लागि दुई सय बेडको आइसोलेसन वार्ड पनि तयारी अवस्थामा राखिएको डा.शर्माले जानकारी दिए । कोरोनाका र अन्य बिरामीका लागि यत्ति धेरै बेडको बेग्ला बेग्लै उपचार कक्ष निर्माण गर्ने नोबेल निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो अस्पताल भएको उनको दाबी छ ।
७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया रहेको नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल पनि हो । कोरोनाबिरुद्ध सरकारले अवलम्बन गरेको अभियानमा साथ दिन आफुले सकेको जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको डा.शर्माले बताएका छन् । कोरोनाले निम्त्याएको संकटले सम्पूर्ण नागरिकलाई प्रभावित पारेकाले सवैको भलाइका लागि सहयोग गर्न आफु तयार रहेको डा.शर्माको भनाई छ । यसअघि डा.शर्माले नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन दिन तयार रहेको घोषणा गर्दै सरकारलाई लिखित पत्रसमेत पठाएर छलफलका लागि आग्रह गरेका थिए ।