५ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका दुई वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री ल्याएर काठमाडौं आइपुगेका छन् ।
मेडिकल सामग्री ल्याउन बिहीबार बेलुका काठमाडौंबाट चीनको ग्वान्जाओ गएका दुई वाइडबडी जहाजले कुल २७ दशमलव ६ टन सामग्री ल्याएर काठमाडौं अवतरण गरेका हुन् । यी जहाज शुक्रबार बिहान आठ बजे काठमाडौंमा विमानस्थल पुगेका थिए ।
यी दुई कार्गो उडानका लागि फरक(फरक कम्पनीले चार्टर गरेका थिए। फ्ल्यास फ्रेट लजिस्टिक र सांग्रिला फ्रेटले कार्गो उडान चार्टर गरेका थिए । यी दुबै उडानमा आएका सामग्री गैरसरकारी क्षेत्रबाट अर्डर भएर आएका हुन् ।
फ्ल्यास फ्रेट लजिस्टिकले चार्टर गरेको उडानबाट आज १७ दशमलव ७ टन मेडिकल सामग्री नेपाल आइपुगेको छ । उक्त कम्पनीको चार्टर्ड उडानमा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए), दूतावास, अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था तथा गैरसरकारी संस्थाहरू र व्यवसायीको सामग्री आएको फ्ल्यास फ्रेटका संस्थापक थोमस मुर्रेले जानकारी दिए ।
यसअघि चार्टर गरेको उडानमा फ्ल्यास फ्रेटले जम्मा ७ टनमात्र सामग्री ल्याएको थियो । जहाजको क्षमता तथा पर्याप्त अर्डर सामग्री भएर पनि अघिल्लो पटक चिनियाँ माग अनुसारको डकुमेन्टेसन नमिल्दा थोरै सामग्री ल्याइएको मुर्रेले जानकारी दिए । उनले अझै एउटा कार्गो उडान गर्नेगरी चीनमा सामग्री बाँकी रहेको बताए ।
उता सांग्रिला फ्रेटले चार्टर्ड गरेको उडानमा भने जम्मा ९ दशमलव ९ टनमात्र सामग्री आएको छ । सांग्रिलाको चार्टर्ड उडानमा मेडिकल आपूर्ति संघमा आवद्ध व्यवसायी, अस्पतालको सामग्री आएको छ ।