१ जेष्ठ, काठमाडौं ।
काठमाडौं उपत्यकामा दशहजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्यअनुसार नमुना संकलन थालिएको छ ।
देशभरी कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ । उपत्यकामा राहत वितरण गर्ने स्वयसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिनेछ ।
सोहीअनुसार बिहीबार कालीमाटी तरकारी बजारमा कोरोना परीक्षणका लागि नमुना संकलन गरेको छ । कालिमाटीमा ६ सयजनाको कोरोना परीक्षण गर्न नमुना संकलन गरिएको हो । काठमाडौं महानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार २ सय जनाको पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको र ४ सय जनाको आरडिटी परीक्षणका लागि नमुना संकलन गरिएको छ ।
होलसेल बजारलाई लक्षित गरी थोक विक्रेता बढी व्यक्तिहरुको सम्पर्कमा रहनेहरुको पिसिआर र सवारी चालक तथा तरकारी ओसार्ने व्यक्तिहरुको आरडिटी परीक्षण गरिएको उनले बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा १० हजारको नमुना परीक्षण गरिने बताए ।
पहिलो विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरुको परीक्षण गरिने उनले बताए । बिहीबार कालाीमाटि बजारसँगै टिचिङ अस्पतालमा कार्यरत चिकित्सकहरुको पनि नमुना संकलन गरिएको उनले बताए ।
चारदिन भित्र १० हजारको नमुना परीक्षण गरिसक्ने तयारी सरकारले गरेको छ । पहिलो चरणको रिपोर्ट आएपछि दोस्रो चरणको कार्यक्रम सुरु हुनेछन् ।