७ जेष्ठ, दोहा । बहराइनमा कोरोनाका कारण एक नेपालीको मृत्यु भएको भनेर हल्ला मात्र गरिएको भन्दै त्यसमा कुनै सत्यता नभएको बहराइनस्थित नेपाली दूतावासले प्रष्ट पारेको छ ।
बहराइनको आधिकारिक निकायबाट प्राप्त सूचनाअनुसार मे महिनाको पहिलो हप्ता समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन् ।
बहराइनमा ३ सय ३१ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको र सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको राजदूत सुन्दासले बताए ।
सम्बन्धित सबै कागजात दूतावासमा सुरक्षित रहेको भन्दै भविष्यमा यस्ता भ्रामक सूचना सम्प्रेषण नगर्न दूतावासले आग्रह गरेको छ । यस्तै अहिलेसम्म बहराइनमा कोरोनाका कारण कुनै पनि नेपालीको मृत्यु नभएको दूताबासले जनाएको छ ।