७ जेष्ठ, झापा । झापाको कचनकवल गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाको पाँच वडा मंगलबारबाट सिल गरिएको छ ।
पालिकाको जम्मा साित वडामध्ये दक्षिण झापासँग सीमा जोडिएको पालिकाका १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताएका छन् ।
शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नम्बर २ मा रहेको पथरिया माध्यमिक विद्यालयको क्वरेन्टीनमा राखेर पीसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो ।
उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार थप नौ जनामा पुष्टि भएको थियो । उनीहरुलाई राखिएको क्वरेन्टीनमा समेत सिल गरिएको उनले बताए ।
मंगलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित फेला परेको सोही पालिकाकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन् ।