१० जेष्ठ, एजेन्सी ।
चीनमा कोभिड –१९ खोप परीक्षणको पहिलो चरणले सफलता पाएको छ।
पहिलो क्लिनिकल ट्रायलले यो सुरक्षित, सहन सकिने र मानवमा सार्स–कोभ–२ विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने देखिएको मेडिकल जर्नल द लेनसेटमा प्रकाशित भएको छ। १ सय ८ जना स्वस्थ मानिसमा गरिएको (ओपन लेबल) परीक्षणले २८ दिनमा यस्तो परिणाम देखाएको हो र यो परीक्षण ६ महिनासम्म जारी राखिने लेनसेटले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
प्रतिरोधात्मक क्षमता बढाएको भए पनि यसले सार्स–कोभ–२ ले पार्ने इन्फेक्सनविरुद्ध काम गर्न सक्छ कि सक्दै भन्ने चाहिँ परीक्षणकै चरणमा रहेको जर्नलमा उल्लेख छ। यो परिणाम अहिलेका लागि महत्वपूर्ण आधारशीला हो।
परीक्षणले के देखायो भने १४ दिनमा टाइफ फाइभ भेक्टोर्ड कोभिड–१९ (Ad5-nCoV) खोपको एक मात्राले भाइरस–स्पेसिफिक एन्टीबडी र टी सेल उत्पादन गर्यो, यसलाई सम्भावित खोपका रुपमा थप अनुसन्धान गर्ने बाटो खुलेको छ,’ बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीका प्राध्यापक वी चेनले भने। उनी यो अनुसन्धानमा सक्रिय छन्।
यद्यपि अहिलेको परिणामलाई गम्भीर हिसाबले व्याख्या गर्न आवश्यक छ। कोभिड १९ भ्याक्सिन पुरानैको निरन्तरता होइन त्यसकारण चुनौतीहरु छन्, अहिले नै कोभिड १९ बाट मानिसहरुलाई यो खोपले रक्षा गर्छ भनिहाल्न मिल्दैन।
अहिले यतिमात्र हो कि यसले कोभिड १९ खोप तयार गर्नका लागि सम्भावनाको बाटो खुलाएको छ र सबैका लागि खोप उपलब्ध हुनका लागि अझै धेरै लामो दुरी तय हुन बाँकी छ,’ चेनले भने।