१२ जेठ, वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सोमबार पर्साका दुई जना पत्रकारसहित पर्साका ४२ जना र एक जना सर्लाहीका सङ्क्रमित गरी ४३ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
यो सँगै अस्पताल सङ्क्रमितविहीन बनेको छ । पछिल्लो शनिबार, आइतबार र सोमबार गरी तीन दिनमा ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएपछि अस्पताल कोरोना सङ्क्रमितमुक्त बनेको हो ।
सबै सङ्क्रमितको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि दुई जना महिलासहित ४३ जनालाई सोमबार डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए ।
त्यस्तै, आइतबार राति ११ बजे एकै परिवारका १८ जना सङ्क्रमित कोरोनामुक्त भई डिस्चार्ज गरिएको थियो भने शनिबार नौ जना कोरोनामुक्त भई डिस्चार्ज भएका थिए । वीरगञ्जकै गण्डक अस्पतालमा बनाइएको अस्थायी कोरोना अस्पतालमा २७ जना सङ्क्रमितको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।