१४ जेष्ठ, पोखरा ।
भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले कोरोना संक्रमणको पुष्टि गरे । संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । बागलुङमा पछिल्लो समय करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।