१४ जेठ, काठमाडौं ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् ।भारतको नेपाल र चीनसँग सीमा विवाद चर्किरहेका बेला उनले भारत छिमेकी देशहरूका लागि खतरा बनेको बताएका छन् । बुधबार समाजिक सञ्जालको वेबसाइट ट्विटरमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री खानल गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री खानले लेखेका छन्, ‘नेपाल र चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’
धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको उनको भनाई छ । उनले नागरिकतासम्बन्धी कानूनका कारण बाङ्ग्लादेशलाई, सीमा विवादका कारण नेपाल र चीनलाई अनि झुठो अभियान चलाएर पाकिस्तानलाई भारतले ’धम्की दिइरहेको’ बताएका छन्।

वर्षौदेखि नेपाल र भारत बीच जारी सीमा विवाद भारतले एकतर्फी रूपमा लिपुलेक जोड्ने सडक बनाएपछिको प्रतिक्रिया स्वरूप नेपालले आफ्नो नक्सालाई अद्यावधिक गरेपछि उत्कर्षमा छ।
त्यसपछिको अर्को ट्विटरमा उनले भारत र पाकिस्तान दुवैले दाबी गरिरहेको जम्मु कश्मीरको चर्चा गरेका छन्। अर्को ट्विटमा उनी लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ ।’