१५ जेष्ठ, काठमाडौँ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लािग सरकारले ६ अर्ब बजेट छुट्याएको छ ।
बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना संक्रमण नियन्त्रण तथा कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा उपचारको लागि उक्त रकम स्वास्थ्य क्षेत्रमा सिवनियोजित बजेटबाट छुट्याइएको बताए ।
यो वर्ष स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिने बताउँदै उनले यस क्षेत्रमा ९० अर्ब ६९ करोडको बजेट प्रस्तुत गरेका छन् ।
कोरोनाको उपचार गर्ने चिकित्सक तथा प्रयोगशालामा काम गर्नेलाई प्रोत्साहन भत्ता, कोरोनालगायत अरु संक्रामक रोगका लागि काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५ लाखसम्मको निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको उनले बताएका छन् ।
आगामी वर्ष काठमाडौं उपत्यकामा ३०० बेड छुट्टै सरुवा रोग अस्पताल निर्माणको लागि पनि बजेट छुट्याइएको बताए । उपत्यका र प्रदेश राजधानीमा थप २५० शैयाको आइसियु बेड निर्माण गर्ने र सबै प्रदेश राजधानीमा ५० शैय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिने उनले बताए ।
पोखराको गण्डकी, विराटनगरको कोसी, नेपालगन्जको भेरी, सुर्खेतको सुर्खेत र कैलालीको सेती अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाइने पनि उनले बजेट भाषणमा बताएका छन् ।