१८ जेष्ठ, सर्लाही ।
नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ।
दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाँध्ने र बाटो बनाउनेजस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो।
साविकको सङ्ग्रामपुर, त्रिभुवन नगर, मधुवनीगोठ मलङ्गवा, हरिपूर्वा, भाँडसर, बलरालगायत ५१ किलोमिटर क्षेत्रमा गाडिएको जङ्गेपिलर, सहायक पिलर र केही साना पिलरलाई नेपाल–भारत दुवै देशका नागरिकले अतिक्रमण गर्दा अहिले पिलर ढल्ने अवस्थामा पुगेको केही स्थानीयवासीले गुनासो गरेका छन्।
यसरी दुई देशबीचको सीमा छुट्याउन गाडिएका ३१५ पिलरमध्ये आठ जङ्गेपिलर, २० सहायक पिलर र १४० साना पिलर अत्यन्तै जीर्ण अवस्थामा पुगेको र दुई साना पिलर हराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पूर्वमा सङ्ग्रामपुरबाट पश्चिममा बलरा नगरपालिकासम्मको ५१ किलोमिटर दशगजाको ११ स्थान दशगजा अतिक्रमणको चपेटामा परेको छ। बलरा नगरपालिका–४ मा दुवैतर्फबाट दशजगा अतिक्रमण गरी घर बनाउँदा सानो पिलर घरभित्र परेको छ।
घर बनाएर बस्न कतै खाली जग्गा छैन, सानो छाप्रो बनाएर बसेको छु, भत्काउन परे पनि कुनै चिन्ता छैन। छाप्रोभित्रै पिलर परेको छ, स्थानीय अक्लेश सहनीले भने। दशगजा क्षेत्रमा दुवै देशले ३०र३० फिट दायाँबायाँ कुनै पनि कार्य गर्न वा घर टहरा बनाई अतिक्रम गर्न निषेधित गरिएको छ।
सीमास्तम्भलाई सुरक्षित बनाउन दुवै देशको बराबर दायित्व भए पनि चासो नदेखाएका कारण अधिकांश स्तम्भ जीर्ण अवस्थामा पुगेका हुन् भने कतिपय भत्काइएका छन्। (रासस)