२७ जेठ, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कणर्ले आफूहरुको राष्ट्रियताको विषयमा आफुहरुमाथि शंका नगर्न अनुरोध गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले राष्ट्रियतामा शंका नगर्न आग्रह गरेका हुन् ।
उनले भने-“हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु । नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन । हामी पटक पटक भनिरहेका छाँै । तर पनि आज मैले सुन्दाजुन अर्नगल कुरा सरकार पक्षबाट आएको छ भने त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ ? त्यस किसिमबाट कसैले कसैलाई रगतको कुरा गर्न सकिन्छ ?यदि रगतको कुरा गर्ने हो भने इतिहास हेर्नुपर्ने हुन्छ । त्यसकारण यस किसिमका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ । ”
उनले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भू-भागसंग सम्बन्धीत विषय भएकाले संविधानको धारा ४ को क र ख लाई पनि हेर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । उनले भने-“सुगौलि सन्धि भएकै हो । हार वा जीतको कुरा गर्ने होइन । समय सापेक्ष सुगौली सन्धि भएको हो । त्यसपछि देशले विभिन्न सन्धि गरेको छ । महाकाली सन्धि गरेको छ । १९ सय ५० को सन्धी गरेको छ । कस्ले कस्ले गरेको हो ?आत्मालाई साँझी राखेर आज सोचोस् । यो इतिहासको काल घडीमा के-के गर्नुभयो ? राष्ट्रवाद त्यो हो । कस्ले भूमि गुमाए? ”
भूमि फिर्ता गर्नकालागि सरकारबाट राम्रो कामको सुरुवात भएको भन्दै अझ विशेष गम्भीर रुपले चिन्तन गरेर कुटनितिक माध्यमबाट समस्या समाधान खोज्न सुझाव दिए ।