२९ जेष्ठ, काठमाडौं ।
कालीकोट दुर्घटनाका एक घाइतेको उपचारका क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको छ ।
हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका दुई जनामध्ये एक जनाको उपचारको क्रममा गएराति मृत्यु भएको कृष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । त्रिवि शिक्षण अस्पतालबाट किस्टमा रिफर भएका दुई घाइते मध्य एकजनालाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
कालीकोट ठेगाना भएका मृतक २० वर्षीय पुरुष रहेको पाठकले जानकारी दिए । यस्तै अर्का घाइतेलाई किस्टले पुनः ट्रमा सेन्टर रिफर गरेको छ । २० वर्षीय युवकको मृत्यु भइसकेपछि अर्का घाइतेलाई आईसीयुमै राखेर उपचार गर्न स्वास्थ्य सुरक्षाका दृष्टिले जोखिम हुने भएकाले ट्रमामा पठाइएको अस्पतालले जनाएको छ ।
भारतबाट आएका उनीहरुलाई क्वारेन्टिनमा राख्नैको लागि गाडीमा राखेर गन्तव्यतिर लगिँदै गरेको अवस्थामा दुर्घटना भएकाले कोरोनाको आशंकामा मृतक र घाइते दुबै जनाको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला पठाइएको पाठकले जानकारी दिए ।
अहिले मृतकमा कोरोना संक्रमण भए–नभएको पुष्टि नभएपनि अपनाउनुपर्ने सबै सावधानी अपनाएको अस्पतालले स्पष्ट पारेको छ । बुधबार कालीकोटको लालीघाटमा ३९ यात्रु बोकेको टिपर दुर्घटना भएको थियो । किस्टमा एक जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस्तै दुर्घटनामा परी ६ जना बेपत्ता छन् ।
कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो ।