योगेन्द्र योगी
२५ असार, दोहा । कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था थप जटिल बन्दै गएको क्याम्पमा रहेका नेपालीहरुले बताएका छन् ।
उनीहरुका अनुसार बिगत लामो समयदेखि काम बिहिन भएको कारण मानसिक तनाव सिर्जना हुन थालेको बताउँछन् । कम्पनीमा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेको र ती कामदारहरु मध्ये ७० प्रतिशतले मात्र काम पाएका छन् भने बाँकी ३० प्रतिसत काम बिहिन भएर कोठामै बस्न बाध्य छन् ।
यता, ट्रान्सगार्ड ग्रुप कम्पनीको तिजरा क्याम्पमा बुधबार साँझ नेपाली कामदार र कम्पनी प्रशासनबीच झडप भएको नाम नबताउने सर्तमा एक नेपालीले जानकारी दिएका छन् ।

नेपाली कामदारले कित हामीलाई काम देउ होइन भने घर पठाऊ भन्दै कम्पनी प्रशासन कहाँ पुगेपछि झडप भएको थियो । उनीहरुका अनुसार नेपाली कामदारहरु मात्र भएको कारण कम्पनीले पनि बेवास्ता गरेको जनाएका छन् ।
झडप लगतै कम्पनीको मेनेजर आएर नेपालको फ्लाइट खुलेको छैन ईन्डियाको फ्लाइट खुलेको छ बरु इन्डिया पठाउन सक्छौ भनेपछि नेपालीहरु थप आक्रोसित बनेका उनीहरु बताउँछन् ।
“उनीहरु कम्पनीको एचआरमा गएर बुझदा हामीले २ हजार ४ सय ७९ जना नेपालीको नामावली यूएईस्थित नेपाली दूतावासमा बुझाई सकेका छौ बांकी काम दूतावासले गर्छ”, कम्पनीको भनाइ उदृत गर्दै एक नेपालीले भने ।
केहिदिन अगाडी यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र भन्ने समाचार बाहिरी संगै कम्पनीले विशेष ध्यान दिएको काभ्रेका जयराम नेपालले बताए ।
समाचार बाहिरीए पछि दूतावासले पनि ट्रान्सगार्ड कम्पनीले आफ्ना श्रमिकलाई आफ्नै खर्चमा छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने प्रस्ताव दूतावासमा राखेको र दूतावासमा श्रमिकको नामसमेत परराष्ट्र मन्त्रालयमा पठाइसकेको दूतावासले जानकारी गराएको उनीहरु बताउँछन् ।
कम्पनीले दूतावासमालाई आफ्नै खर्चमा छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने भनेर नामावली पठाए पनि दूतावासबाट कुनै अनुमती नआएको क्याम्प ब्याबस्थापनले जनाएको छ ।
नेपाल सरकार र नेपाली दूतावासकै कारण आफूहरुको उद्दारमा ढिलाई भैरहेको उनीहरुको भनाइ रहेको छ । ट्रान्सगार्ड ग्रुप यूएईको सबै भन्दा ठूलो सप्लाई कम्पनी हो । विभिन्न क्षेत्रमा गरि यूएईमा करिव ३ लाख ७० हजारको हाराहारीमा नेपाली कार्यरत छन् ।