२७ असार, काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व जनसङ्ख्या दिवस २०२० को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
जुलाई ११ अर्थात् आजकै दिन विश्वभर जनसङ्ख्या दिवस मनाइन्छ । सन् १९९४ मा जनसङ्ख्या र विकाससम्बन्धी आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी) का आधारमा समग्र विकासका आयामहरू पहिल्याउने कामको शुरुवात भएको थियो ।
सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरूले जनसङ्ख्यामा देखिएको उतारचढावलाई हस्तक्षेपकारी भूमिकाका साथ सन्तुलनमा ल्याउन महसुस गरी शुरु भएको अभियानले आज २५ वर्ष पार गरेको छ ।
“जनसङ्ख्या र विकाससँग जोडिएका महत्त्वपूर्ण बहुआयामिक क्षेत्रहरूको नीति निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेसँगै यो दिवस मनाउने उत्साह पनि कायम छ” शुभकामना सन्देशमा मन्त्री ढकालले भनेका छन् । कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्षको जनसङ्ख्या दिवसलाई फरक शैलीका साथ मनाइरहेको पनि उनले चर्चा गरे ।
वि.स. २०६८ को जनगणनाको नतिजाले नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर २ प्रतिशतभन्दा तल झरेको देखिनुले जनसङ्ख्याको नियन्त्रणभन्दा पनि जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनले उल्लेख गरे ।
यस वर्ष जनसङ्ख्या दिवसको नारा ‘कोभिड १९ सङ्क्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीहरूको स्वास्थ्य र अधिकार सुरक्षित गरौँ’ तय गरिएको छ । कोभिड–१९ बाट विश्वभर एक करोडभन्दा बढी मानिस सङ्क्रमित भएको बताउँदै मन्त्री ढकालले महिला, बालबालिका लगायतका समाजका विविध पक्षमा यसले ठूलो असर पारेको बताए ।
“यसबेला महिला, बालबालिका, ज्येष्ठ नागरिकहरू लगायतका अधिकारलाई सम्मान गर्दै उनीहरूलाई सुरक्षित राख्ने सम्बन्धमा हामी सजग छौँ” मन्त्री ढकालले चर्चा गरे । “जनसङ्ख्या विकासको मूल आधार मात्र होइन, यो देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक नै हो” मन्त्री ढकालले शुभकामना सन्देशमा भनेका छन्, “सरकारले तय गरेको पन्ध्रौँ पञ्चवर्षीय योजनामा प्रतिबद्धता जनाई लागू गरेको दीगो विकास लक्ष्य लगायतका हरेक कार्यक्रममा जनसङ्ख्या व्यवस्थापन प्राथमिकतामा परेको छ ।”
विश्वको जनसङ्ख्या अहिले करिब पाँच अर्ब पुगेको छ ।