२८ असार, काठमाडौं । विश्वव्यापी महामारी कोरोनाका कारण विदेशमा गएको साता कुनै पनि नेपालीको मृत्यु भएको छैन ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा घट्दै गएको छ ।
संघका अनुसार कुल कोराना संक्रमित मध्य ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमण मुक्त भएका छन् ।
हिजो शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।
नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जना संक्रमित छन् ।
ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । यसअघि गतसाता सम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको थियो ।
नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाईका साथ पालना गर्न समितिले आग्रह गरेको छ ।