२८ असोज, काठमाडौँ ।
उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना संकलन गर्न थालेको छ । नखुटोल, कोटेश्वर, संखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताए ।
अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उनले बताए । असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उनले बताए ।
उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् । बैंक तथा वित्तिय संस्था, मालपोत कार्यालय र आइसियु लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको उनले बताए । अहिलेसम्म संकलन गरी रिपोर्ट आएका ५ सय ५ जनामा नेगेटिभ आएको छ ।
नेपालमा आइतबार ८२ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।
आइतबार १ सय ४७ गरी आजसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन् । कोरोनाका कारण नेपालमा ३८ जनाको मृत्यु भएको छ ।