सिन्धुलीमाढी: मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन ।
कमला नदीमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा दुधौली नगरपालिका २, रतनपुरका बासिन्दा जोखिम मोलेर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । वर्षात्को समयमा कमला नदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीयवासी पुलको पिलर हेरेर अर्को वर्ष त बन्ला भन्दै चित्त बुझाउँदै आएका छन् ।
स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहु“दा पुलका पिलर धसिँदै गएका छन् । शक्ति केन्द्रको आडमा विभिन्न ठेक्का हत्याउने र कामै नगरेर चर्चा कमाएको पप्पु कन्स्ट्रक्सन र लुम्बिनी निर्माण सेवा जेभीले उक्त पुलको निर्माण गर्ने ठेक्का पाएका थिए । पप्पुको तीव्र विरोध भएपछि जेभीमै रहेको लुम्बिनीले काम थालेको थियो ।
धिमा गतिमा पुलको काम हुँदा निर्माण सम्पन्न कहिले हुने भन्ने टुङ्गो नभएको स्थानीय रेखराज दाहालले दुःखेसो पोख्नुभयो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।