४ साउन, बिराटनगर ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो ।
सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ बर्ष अघिदेखि विभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको रुपमा कार्यरत बरिष्ठ डा.गेहनाथ बराललाई पनि नोबेलले भित्र्याएको छ । डा.बरालसहित नोबेलका बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.शान्ति सुवेदीसहितको टिमले सबै किसिमका स्त्रीरोगको उपचार गर्दै आएका छन् ।
सम्पूर्ण स्त्रीरोगको उपचार तथा अप्रेशनसहित स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि अप्रेशन थालिएको नोबेलका स्त्रीरोग बिशेषज्ञ डा.गेहनाथ बरालले जानकारी दिए । डा.बरालका अनुसार आङ खस्ने, पिसाब चुहिने तथा फिस्टुला लगायत रोगको अप्रेशनसहित पाठेघर तथा सबै स्त्रीरोग क्यान्सरको अप्रेशन पनि सुरु गरिएको हो ।
नोबेलले गुणस्तरीय र सर्वसुलभ उपचार सेवालाई प्राथमिकता दिँदै स्तरीय चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर जटिल तथा दुर्लभ उपचार पनि सफलतापूर्वक गर्दै आएको दावी गरेको छ ।