५ साउन, पाल्पा ।
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डमा पहिरोको जोखिम बढेपछि सोमबारदेखि रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।
जतिबेला पनि ढुंगा र पहिरो खस्न सक्ने भन्दै सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको हो । बेलुकी ८ बजेबाट बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बर्तुङदेखि बुटवलसम्म यात्रा नगर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सडकका विभिन्न स्थानमा माथिल्लो भागबाट ढुंगा र पहिरो खसेको र रातिको समयमा देख्न नसकिने भएकाले सर्वसाधारणलाई केही दिनका लागि रातिमा यात्रा नगर्न आग्रह गरेको बताए ।
एक सातादेखि पटकपटक पहिरो खस्ने गरेको र पुनः पहिरोको माथिल्लो भागबाट ढुंगा झर्न सुरु भएकाले अँध्यारोमा यात्रा नगर्न आग्रह गरिएको उनले बताए । विगत केही दिनदेखि परिरहेको वर्षा र जल तथा मौसम विज्ञान विभागले पनि केही दिन पानी पर्ने जनाएकाले रातिमा यात्रा गर्न खतरा भएको प्रहरी उपरीक्षक दीपक खरेलले बताए ।
सिद्धार्थ राजमार्गको गौडेपुल, कालीमाटी, चर्चरे, चौविसमाइल, हिउँदेखोला, पानीमिल, दोभान, सिद्धबाबालगायतका स्थानमा पहिरो खस्ने सम्भावना बढी रहेको सडक डिभिजनले जनाएको छ ।
खराब मौसमका कारण पुनः पहिरो जान सक्ने अवस्थालाइ ध्यानमा राखेर सावधानी अपनाउन प्रहरी र प्रशासनले सूचना जारी गरेको हो । एम्बुलेन्स, बिरामी बोकेका सवारी साधन साथै अत्यावश्यक काममा हिँड्ने बाहेक अन्यले यात्रा नगर्न आग्रह गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले बताए ।
अत्यावश्यक अवस्थामा बाहेक यात्रा गर्दा नजिकको प्रहरी युनिट र प्रशासनमा जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको उनले बताए ।
फेरि खस्यो पहिरो
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुनः पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ ।
आइतबार अपरान्ह ५ बजे पहिरो हटाएर यातायात सुचारु भएको तीन घण्टापछि ८ बजेबाट सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । शुक्रबार बिहान झरेको पहिरो हटाएर यातायात सुचारु भएको केही छिनमै पुनः पहिरो खसेको हो ।
वर्षा रोकिएपछि अवरुद्ध राजमार्ग खुलाउन प्रयास गरिने प्रहरीले जनाएको छ ।