१२ साउन, एजेन्सी ।
भारतमा एकैदिन झण्डै ५० हजार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख नाघेको छ । यस्तै भारतमा कोरोनाका कारण एकैदिन ७ सय ८ जनाको ज्यान गएको छ ।
योसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या ३२ हजार ७ सय ७१ पुगेको छ । समाचार एजेन्सीकाअनुसार विश्वभर पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या २ लाख १४ हजारभन्दा बढी रहेको छ ।
यसैबीच स्पेनले कोरोना भाइरसका सङ्क्रमितहरु फाट्टफुट्ट देखिए पनि अवस्था सामान्य बनिसकेको जनाएको छ । स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको आशङ्का गरिएका बेला स्पेनले अवस्था सामान्य बनिसकेको र पर्यटकका लागि सुरक्षित भइसकेको दाबी गरेको हो ।