१६ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएको छ ।
सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।
योसंगै प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना संक्रमित हुनेको संख्या ७२ पुगेको छ । केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार शुक्रबारसम्म संक्रमितको संख्या ७२ पुगेको हो ।
संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको उनले जानकारी दिए। पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो। संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन्।
संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए।