१७ साउन, पर्सा ।
स्थानीयको अवरोधका बीच पर्साका तीन जना कोराना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ ।
वीरगञ्ज महानरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच शव व्यवस्थापनको विषयमा झडप भएको थियो । झडपकै बीच गएराति अबेर सुरक्षाकर्मीले कोरोनाका कारण ज्यान गुमाएका तीन वटा शवलाई वीरगञ्ज महानगरपालिकाको उत्तरमा रहेको जंगलमा लगेर व्यवस्थापन गरेका हुन् ।
शव व्यवस्थापन गर्न लैजाने क्रममा भिड हटाउन प्रहरीले ६ राउण्ड अश्रुग्यास र ५ राउण्ड हवाई फायर गरेको थियो । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । झडपमा प्रहरीतर्फका ८ जना घाइते भएका छन् ।
घाइते प्रहरीको उपचार चलिरहेको र केही दिन आराम गर्नुपर्ने भएको प्रहरी उपरीक्षक गंगा पन्तले बताउनु भयो । पन्त स्वयंलाई पनि सामान्य चोट लागेको छ । हिजो बेलुका ७ बजेतिर जीतपुर बजारका स्थानीय जम्मा भएपछि झडप सुरु भएको थियो ।
मोबाइलमार्फत मिलनचोक आसपासका नागरिकलाई सुरक्षाकर्मीको प्रतिवाद गर्नका लागि मिलनचोकमा आउन सूचना प्रवाह भयो । एकैछिनमा सयौँ मानिसको सहभागिता भयो। शोलखपुर, मिलनचोक कटगेनवा लगायतका गाउँबाट मिलनचोकमा मानिसहरु जम्मा भएका थिए ।
स्थानीयले कोरोना सङ्क्रमणका कारण ज्यान गएकाहरुलाई आफनो क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने अडान लिएर प्रहरीलाई अवरोध गरेका थिए । यद्यपी स्थानीय प्रशासनले भने शव लैजानुभन्दा पहिला राजनीतिक दल, समाजिक अगुवा सबैसँग छलफल गरेर शव व्यवस्थापन गर्ने वातावरण बनाएको थियो ।
मिलनचोकबाट उत्तरतिरको जंगलतर्फ जाने बाटो खराब भएकाले पहिला नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाटो बनाउने र पछि नेपाली सेनाले शव लाने पूर्व तयारी भएको थियो । तर स्थानीयले भने घाँस दाउरा गर्न जंगल जानु पर्ने वस्तु भाउ चराउन जंगल जाँदा कोरोना भाइरसको सङ्क्रमण फैलने डरका कारण शव व्यवस्थापन गर्न अवरोध सृजना गरेका हुन् ।
अस्ति वीरगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको थियो । जगदम्बा इन्टर इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ ।