२० साउन, विराटनगर ।
मोरङको पुरानो बजार रंगेली मंगलबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।
एकै परिवारका १४ जनामा कोरोना देखिएपछि स्थानीय निकायले रंगेली बन्द गरेको हो । बजारसंगै अर्को सूचना नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको रंगेली नगरपालिकाले जनाएको छ ।
सोमबार आएको पीसीआर रिपोर्टमा एकै परिवारका १४ जनासहित विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि भएको हो ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार मध्यराति देखि अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको उल्लेख छ ।
रंगेली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रोहेन्द्र पाण्डेले संक्रमितहरुको उपचारको प्रबन्ध, उनीहरुको सम्पर्कमा आएका झन्डै २ सय जनाको स्वाब परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने भएकोले बजार, अस्पताल एवं कार्यालयहरु बन्द गरिएको बताए ।
‘यो अस्पतालमा कोरोनाबाट प्रभावित सुनवर्षी र रतुवामाइ नगरपालिकालगायत मोरंगको सीमावर्ती दक्षिणपूर्वी भेककै सेवाग्राही आउने हुनाले समुदायमा फैलिन नदिनलाई सावधानीका कदमहरु चालिएको हो,’ उनले भने । स्थिति सहज हुनबित्तिकै अस्पताल सञ्चालन हुने डा.पाण्डेले बताए ।
आवागमन प्रयोजनका लागि सशुल्क पीसीआर परीक्षण गराउँदा रंगेली बजारका एकै परिवारको १४ जनामा संक्रमण देखिएको डा.पाण्डेले बताए । सामान्य स्वास्थ्य अवस्था भएका उनीहरु कसरी र कहाँबाट संक्रमित भए भन्ने पुष्टि हुन नसकेको उनले जानकारी दिए ।
अन्यमा भने रंगेलीसँग जोडिएको सीमावर्ती सुनवर्षी नगरपालिकाका संक्रमितसँग सम्पर्कमा आएको कारण नगरपालिकाले नै पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उनले प्रस्ट पारे ।
मंगलबार बिहानदेखि रंगेलीमा घरबाट ननिस्कनलाई माइकिङ गरिँदैछ । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा अस्पतालको इमरजेन्सी सेवाहरु समेत २० साउनदेखि अर्का सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ ।
स्वास्थ्यसँग सम्बन्धित सेवाहरु बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवाहरु समेत मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द रहेको विज्ञप्तिमा भनिएको छ ।