२१ साउन, एजेन्सी । भारतमा लामो समयदेखि गम्भिर विवादको विषय बनेको अयोध्यास्थित राममन्दिर निर्माण बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो विशेष कार्यक्रमबीच भूमि पूजा गरेर मन्दिर निर्माणको विधिवत् शिलन्यास गरेका हुन् । मोदीले स्थानीय समयानुसार पौने एक बजे मन्दिरको जगमा चालीस किलोका पाँच वटा चाँदीको इँटा राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त शिलान्यास कार्यक्रमलाई भव्य बनाउन केन्द्र र उत्तर प्रदेश सरकारले विशेष तयारी गरेको थियो । कार्यक्रमकै लागि भनेर अयोध्यालाई विशेष रुपमा सजाइएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अयोध्याका अधिकांश भागलाई पहेँलो रगं लगाइएको छ । त्यसका साथै सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताइएको थियो ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले राम मन्दिर निर्माणलाई विगत तीन दशकभन्दा बढी समयदेखि नै राजतीनिक मुद्दाका रुपमा उठाउँदै आएको थियो । त्यही भए पनि राम मन्दिर शिलन्यासलाई सत्तारुढ भारतीय जनता पार्टी र त्यस निकट हिन्दुवादी संस्थाहरुले वैचारिक र राजनीतिक जितका रुपमा लिएका छन् । पार्टीले गत वर्षको लोकसभाको चुनावी घोषणा पत्रमै पाँच वर्षभित्र राम मन्दिर निर्माण गर्ने प्रतिबद्धता गरेको थियो । यस अर्थमा बुधबार भएको राम मन्दिरको शिलान्यान्सलाई भाजपाले ठूलो राजनीतिक जितका रुपमा हेरेको छ ।
गत वर्ष भारतको सर्वोच्च अदालतले अध्योध्याको विवादास्पद भूमि हिन्दु पक्षको भएको फैसला गरेपछि राम मन्दिर निर्माणको बाटो खुलेको हो । अदालतले ९ नोभेम्बर २०१९ मा दशकौंदेखि विवादित रहँदै आएको अयोध्याको राममन्दिर–बाबरी मस्जिदसम्बन्धी मुद्दामा विवादित २.७७ एकड भूमि मुद्दाको एउटा एउटा पक्ष रामलला न्यासले पाउने फैसला गरेको थियो । अदालतको यो फैसलासँगै राममन्दिर विवादास्पद भूमिमा निर्माणको बाटो खुलेको हो ।
बुधबारको मन्दिर शिलान्यास कार्यक्रमका लागि डेढ सयभन्दा बढी पाहुनालाई निम्तो गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथदेखि विभिन्न मन्त्रीहरु, रामजन्म भूमि गुठीका सदस्यहरु, सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को माउ संस्था राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस), विश्व हिन्दू महासंघलगायतका धार्मिक संस्थाहरु प्रतिनिधिहरुको पनि उपस्थिति रहेको बताइएको छ ।
राम मन्दिर शिलान्यासलाई नेपालमा पनि निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि राम जन्मेको अयोध्या नेपालको ठोरीमा पर्ने अभिव्यक्ति दिएपछि अयोध्याको विषयमा नेपालमा पनि निकै चासो बढेको हो ।
यद्यपि उक्त अभिव्यक्तिलाई लिएर ओलीको भारतमा मात्र नभएर नेपालमा पनि चर्को आलोचना भएको थियो । पछि परराष्ट्र मन्त्रालयले ओलीको भनाई राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुर्याउने उद्देश्य नरहेको भन्दै स्पष्टीकरण दिएको थियो । तर, उनका समर्थकहरुले भने रामको जन्मभूमिका सम्बन्धमा भारतमा समेत मतैक्य नरहेको हुँदा ओलीको अभिव्यक्तिलाई गलत भन्न नमिल्ने बरु त्यसलाई आधार बनाएर राम जन्मभूमि र अध्योध्याको अध्ययन र अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएका छन् ।