२१ साउन, बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका ९ र ११ स्थित कालिकापथ विस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइएको छ ।
सडक ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरिए पनि अटेर गरेको भन्दै उपमहानगरपालिकाले बुधबार बिहानै डोजर लगाएर घर भत्काएको हो ।
उक्त सडक ८२ फिट फराकिलो बनाइँदै छ । उपमहानगरले सडक मिचेका घर भत्काउन घरधनीहरूलाई साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । म्यादभित्र कसैले पनि घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
कालिकापथलाई उपमहानगरपालिकाले वैकल्पिक सडकका रूपमा विस्तार गर्ने योजना बनाएको छ ।
बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यो सडक विस्तारको काम सम्पन्न गर्न ३ वर्ष लाग्ने र झन्डै एक अर्ब खर्च हुने उल्लेख छ ।